बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

लोकपथ
234
Shares

म्याग्दी । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र… घ्वार्र…गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो ।

करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो ।

अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् ।

रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् ।

गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ ।

काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ ।

“व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ”, विकले भने ।

वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए। १०/१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए ।

आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५/३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए ।

अहिले मुस्किलले मासिक पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ ।

मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो) खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?