प्रत्येक भेटघाटको पारिश्रमिक लिने अनुरागको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अब आफ्ना हरेक मिटिङमा पारिश्रमिक लिने घोषणा गरेका छन् । आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमा एक लामो पोस्ट शेयर गर्दै फिल्मकर्मीलाई रिस पोखेका छन् । उनले छिटो–छिटो सफलता चाहनेमाथि पनि आक्रोश पोखेका छन् ।

‘मैले आफ्नो लामो समय नयाँ अनुहारलाई सहयोग गर्नमा बर्बाद गरें । जसमा बढी मिडियामा आउन चाहने नै थिए । अब म आफ्नो समय बर्बाद गर्न चाहन्नँ । जसलाई मलाई क्रिएटिभ जिनियस मान्छ, म उसँग अब पैसा लिएर मात्र सल्लाह दिन्छु । यदि मसँग कोही भेटघाट गर्न चाहन्छ भने १० देखि १५ मिनेटका लागि १ लाख रुपैंयाँ पारिश्रमिक लिन्छु । आधा घण्टाका लागि २ लाख र १ घण्टाका लागि ५ लाख रुपैंयाँ लिनेछु ।

म मान्छेलाई भेटेर थाकिसकेको छु । यदि तपाईंलाई मेरो सर्त मनपर्छ भने कि मलाई फोन गर्न सक्नुहुन्छ या मबाट टाढा रहन सक्नुहुन्छ’, उनले लेखेका छन् ।उनले अगाडि लेखेका छन्, ‘पैसा दिनुहोस् र आफ्ना लागि समय लिनुहोस् । म च्यारिटी गर्दिनँ । म च्यारिटी गरेर थाकिसकेको छु ।’

अनुरागको यो पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको पोस्टमा उनकी छोरी आलियाले कमेन्ट गरेकी छन् । ‘म यो सन्देशलाई मेरो डिएममा ती व्यक्तिलाई पठाइरहेकी छु, जसले मलाई आफ्नो स्क्रिप्ट इमेल गर्छन् । उनीहरुलाई यो सन्देश फरवार्ड गर्न चाहन्छु’, आलियाले लेखेकी छन् ।

निर्देशक शेखर कपूरले पनि अनुरागको पोस्टमा समर्थन गरेका छन् । ‘साँच्चै अनुराग । म पनि कैयौं पटक यस्तो अनुभव गरिरहेको छु’, उनले कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?