रंगको पर्व : होलीजस्तै रंङ्गीन पर्व विश्वभर

लोकपथ
21
Shares

काठमाडौं । नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ । विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात् फागु पर्वको विशेष महत्व रहेको पाइन्छ । नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ । राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो ।

फागु पूर्णिमाको अवसरमा नेपालमा पनि विभिन्न जाति, समुदाय र क्षेत्रका आधारमा फरक फरक तरिकाले होलीमा रमाउने चलन छ । काठमाडौं उपत्यकामा बसन्तपुर दरबार परिसरमा चीर अर्थात् लिङ्गो गाडेपछि सुरु हुने होली अन्तर्राष्ट्रिय पर्वका रुपमा पनि मान्ने गरिन्छ । विश्वका विभिन्न भूभागमा बसोबास गर्ने नेपालीहरुले होलीलाई उत्साहका साथ मनाउने गर्छन् ।

नेपालमा विभिन्न किसिमले होली मनाइए पनि होलीजस्तै पर्व विश्वका अन्य देशहरुमा पनि मनाउने प्रचलन छ । हिन्दुहरुले मनाउने होली र विदेशका विभिन्न राष्ट्रमा मनाउने यस्तै प्रकृतीको पर्वको उदेश्य एकआपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने नै हो । साथै खुशीयाली साट्ने देखि असत्यमाथि सत्यको विजय भएको अवसरका रुपमा मनाउने चलन विश्वभर छ ।

भारतमा ‘फगुवा’

छिमेकी देश भारत पनि हिन्दु बहुल देश भएकाले नेपालकै जस्तो रौनक त्यहाँ पनि हुने गर्छ । भारतमा होलीको विशेष महत्व रहेको पाईन्छ । ‘फगुवा’ अर्थात् ‘होली रे’ भन्दै भारतका सबै प्राप्तमा यस पर्वको रौनकता ब्यापक हुने गर्छ । भारतमा यस दिनलाई राष्ट्रिय पर्वको रुपमा लिने गरिन्छ । घरपरिवार, आफन्त, साथीभाइ आपसमा रङमा रंगीएर उल्लासपूर्वक मनाउने गरिन्छ । फगुवा खेल्दै उल्लास, उत्साह र उमंगकासाथ मनाउँदै यसलाई रंगीन बनाउने प्रचलन छ । बंगलादेशमा पनि हिन्दुहरुले होलीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । उता श्रीलंकामा फागु पर्वका बेला अग्नीको विशेष पूजा गर्ने चलन छ ।

चीनमा ‘पोयावामा’

चीनको ‘पोयावामा’ पर्व होलीसँग केही मेल खान जान्छ । चीनका ताई जातीका मानिसहरुले पानी छ्यापेर यस पर्वलाई उल्लासका साथ मनाउने गर्छन् । परापूर्वकालमा ‘छुडबिंङ’ नामक राक्षसले जोकोही सुन्दरी केटीलाई लिएर जाने र दुःख दिने गरेकाले पछि सुन्दरी केटीले नै मारेपछि सोही दिनलाई पर्वका रुपमा मनाउने थालिएको किवदन्ती छ । चीनमै ‘ज्वेजे’ नामक पर्व पनि मनाईन्छ । यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ । यस पर्वमा मानिसहरुले विभिन्न रंगका कपडा लगाउने र आगो बालेर पूजा गर्ने गर्छन् । यस अवसरमा विभिन्न खेल प्रतियोगिताहरु गराइने साथै शुभकामना आदानप्रदान गर्ने चलन छ ।

जर्मनीमा ‘कारनिवाल’

जर्मनीमा विभिन्न पर्वहरुमध्ये होली जस्तै यो पर्वहरु पनि राष्ट्रिय पर्वकै रुपमा मान्ने चलन छ । बर्षेनी मनाइने इस्टर पर्वको समयमा ‘कारनिवाल’ को विशेष रौनक हुन्छ । साँझको समयमा स्थानीयबासीले घाँसको पुतला बनाएर जलाउँछन् ।  जलाइसकेपछि एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् र एकअर्कालाई रंग दलेर खुशीयाली साट्ने गर्छन् । रंग एकै किसिमको भने हुँदैन । विभिन्न स्थानमा दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने प्रचलन रहि आएको छ ।

थाइल्याण्डमा ‘साङफ्रान’

थाइल्याण्डमा बौद्ध धर्मावलम्वीहरुको धेरै बसोबास रहेको छ । थाइबासीका पनि अनेकन पर्वहरु छन्, जसमध्ये साङफ्रान होलीसँग लभभग मेल खान्छ । किनकी यो पर्व अप्रिल महिना अर्थात् वैशाखमा मनाइन्छ । उनीहरु सुगन्धित पानी र रंग खेलेर यस पर्वलाई मनाउने गर्छन् । होली नेपालीले घर, सार्वजनिक स्थलहरुमा मनाइए जस्तै थाइबासीले यो पर्व विशेष गरी मठमन्दिर वा गुम्बामा गएर मनाउने गर्छन् । त्यहाँ उनीहरुले बुद्धको पूजा अर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् । साथै भने बुढापाकाबाट आर्शिवाद लिने गर्छन् । 

यूनानमा ‘मेपोल’

यूनानी समुदायले बर्षेनी विभिन्न पर्वहरु मनाउँछन् तर ‘मेपोल’ नामक पर्व होलीसँग लगभग मिल्दोजुल्दो रहेको पाईन्छ । चोक चोकमा लिङ्गो गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । आगो लगाइसकेपछि युनानीहरु रंगको ब्यापक प्रयोग गर्ने गर्छन् । उनीहरु रंग दल्ने भन्दा पनि उडाएर खुशीयाली मनाउने गर्छन् । आगो बालेर रंग उडाउँदा देवता प्रशन्न हुने  विश्वास गर्छन् ।

स्लोभाकियामा ‘बेलियाकोनेन्से’

स्लोभाकिया गणराज्यमा ‘बेलियाकोनेन्से’ नामक पर्व होलीसँग ठ्याक्कै मिल्दोजुल्दो छ  । विश्वभर भ्यालेन्टाइन पर्वले स्थान जमाए जस्तै यहाँका युवायुवतीहरू माझ ‘बेलियाकोनेन्से’ ले स्थान पाएको छ । युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गर्छन् । एक आपसमा प्रेमभाव व्यक्त गर्न पनि यो पर्व बढी लोकप्रिय छ । त्यसबाहेक हरियो घाँसबाट बनाइएको विशेष प्रकारको लुगा लगाएर नाच्ने र रमाउने प्रचलन छ । यही पर्व चेक गणराज्यमा पनि उस्तै चर्चित छ ।

पोल्याण्डमा ‘असिना’

पोल्याण्डमा धेरैजसो क्रिश्चियनहरुको बाहुल्यता छ । यसभित्र पनि कतिपय जातजाती वा समुदायहरुका आफ्नै परम्परा र पर्वहरु रही आएका छन् । त्यसमध्ये ‘असिना’ नामक पर्व हिन्दुहरुको जस्तै गरी मनाइने गरिन्छ । मानिसहरू एकआपसमा रंग दलेर खुशी साट्ने गर्छन् । यस पर्वका अवसरमा विभिन्न परिकारहरु भन्दा पनि मिठाइ बाँढ्ने गरिन्छ । उता लाओस नामक देशमा अंग्रेजी नयाँबर्षको सुरुवातमा होलीजस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा उल्लासका साथ रंग दल्ने गरिन्छ ।

इंगल्याण्डमा ‘माई फाक्स डे’

यहाँको यो पर्व नेपालकमा जस्तै रंगहरुको प्रयोग गर्ने र उल्लासका साथ ‘माई फाक्स डे’ पर्व मनइने गरिन्छ । यो पर्व त्यहाँ युवाहरुमाझ बढी लोकप्रिय छ । यस पर्वका अवसरमा शुभकामना आदनप्रदान साथै आर्शिबाद लिने प्रचलन छ । उता अष्ट्रेलियामा २१ मार्चमा मनाइने ‘वैली’ नामक पर्व पनि होलीसँग मेल खान्छ । यस दिन रंगहरुको प्रयोग गर्दै सांगीतिक कार्यक्रमहरुको आयोजना गरी पर्वलाई उल्लासमय बनाइने गरिन्छ ।

अमेरिकामा ‘हलोइन’

होलीसँग मिल्दो पर्व हो हलोइन । यो अमेरिकामा प्रख्यात छ । प्रत्येक बर्षको अक्टोबर ३१ का दिन मनाइने यो पर्वमा पनि रंगहरुको व्यापक प्रयोग हुन्छ । खासगरी नेपालको गाइजात्रासँग मेल खाने यो पर्वमा भूतको पहिरनमा शहर परिक्रममा गर्ने गरिन्छ । यस अवसरमा भूत र सैतानका रुपमा हाँसिमजाग गर्ने साथै विभिन्न तरिकालो रमाइलो गर्ने प्रचलन छ । अनुहारमा रंगहरुले पोतेर मनाइने भएकाले यो पर्व रंगिन बन्न गएको हो । यसअवसरमा घर घरमा गएर चक्लेट र क्यान्डी माग्ने गरिन्छ ।

स्पेनमा ‘ला टोमाटिना’ र ‘ब्याटल डेल भिनो’

स्पेन चमत्कारपूर्ण खेल र पर्वले प्रख्यात देश हो । यहाँ नेपालको होली जस्तै जुन महिनाको २९ तारिखमा एक अर्कालाई वाइन छ्यापेर ‘ब्याटल डेल भिनो’ अर्थात ‘वाइन’ फेस्टिभल मनाउने चलन छ । त्यस्तै स्पेनको भ्यालेन्सियामा पाकेको टमाटर फुटाई एक अर्कालाई प्रहार गरि ‘ला टोमाटिना’ मनाउने गरीन्छ । यो पर्व अगष्टको अन्तिम बुधबार पर्ने गर्छ । विहानैदेखि पटका पड्काउँदै दिनभर उत्साहपूर्वक यो पर्व मनाउने गरिन्छ । अष्ट्रेलियामा पनि यो पर्व मनाउने चलन छ ।

दक्षिण कोरियामा ‘बोरेयोङ मड’ यो पर्व करिब दुइ हप्तासम्म लगातार मनाउने गरिन्छ । तर यस पर्वका अवसरमा पानी र रंग नभई हिलो छ्यापेर मनाउने चलन छ । विशेष गरी दक्षिण कोरियाको बोरेयोङ क्षेत्रमा मनाइने यो पर्व जुलाई महिनामा पर्छ । बोरेयोङ क्षेत्र कस्मेटिङ सामाग्री उत्पादन हुने किसिमको माटो पाउने भएकाले यहींको माटो प्रयोग गरी एकआपसमा हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?