१८ वर्ष पुगेका व्यक्तिलाई छुट्टै कारागारमा राख्ने तयारी

लोकपथ
0
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रभावकारी रुपमा समस्या समाधानको लागि बाल सुधार गृहको स्थलगत भ्रमण फलदाही रहेको बताएका छन् ।

विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले सुधार गृहमा समस्याहरु देखापरेको सन्दर्भमा यसको स्थलगत भ्रमण आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सुधार गृहभित्रका समस्याहरुलाई अध्यन गर्ने, बुझ्ने र समस्या समाधानको लागि सार्थक रुपमा पहल गर्नको लागि बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण फलदाही बन्छ भन्ने विश्वास छ ।’

यस्तै, उक्त बैठकमा मन्त्रालयको सचिव उदयराज सापकोटाले पनि १८ वर्ष पुगेका मानिसलाई छुट्टै कारागारमा राख्ने व्यवस्था कानुनमा नभएको भन्दै त्यसको लागि कानून नै संशोधन गर्नुपर्ने बताए ।कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको भन्दै यसको लागि छलफल भएर एउटा ड्राफ्ट पनि तयार भईसकेको उनको भनाई छ ।

उनले भने, ‘१८ वर्ष माथिका लागू औषध र बलात्कारको घटनामा संलग्न भएको हुनाले सुधार गृहमा त्रासको अवस्था पनि बनेको छ र कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको छ । त्यसको लागि १८ वर्ष पुगेका मानिसलाई छुट्टै अर्को कारागारमा राख्ने कुरामा छलफल भएर एउटा ड्राफ्ट तयार भईसकेको छ । कानूनमा यसको लागि व्यवस्था नभएको हुनाले कानून नै संशोधन गर्ने कुरा छ र बाल क्षेत्र न्याय समन्वय समिति सञ्चालकले पनि यसको लागि सिफारिस गरिसकेको छ ।

त्यो सकेसम्म चाडै नै प्रस्तुत गर्ने तयारीमा छौ । त्यो महिला मन्त्रालयका भएको हुनाले कानूनमा आउने वितिकै पठाउने तयारी गरेका छौ ।’ बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?