नेपालसम्म रेल ल्याउन भौगोलिक रुपमा धेरै कठिन छ, तर, हामी प्रतिवद्ध छौँ : चिनियाँ राजदूत

काठमाडौं । चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताएको छ । 

बिहीवार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सो कुरा बताएका हुन् । तर, उनले नेपालसम्म रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको बताइन् । 

‘राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ’ उनले भनिन् । 

उनले थप्दै भने, ‘क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन छ । र धेरै खर्चिलो पनि छ । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक पर्छ ।’

विभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै उनले अहिले पहिलो चरणको प्रि–फिसिबिलिटीको काम मात्र सकिएको बताइन् ।

दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम शुरु हुने बताउँदै उनले भनिन्, ‘नेपाल–चीन क्रस बोर्डर रेलवे धेरै महत्वपूर्ण छ । तर, यो धेरै कठिन छ । सहज छैन हामीलाई, यो लामो समयको प्रोजेक्ट हो । तर, हामी निर्माणका लागि प्रतिबद्ध छौं ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?