मिडिया काउन्सिल विधेयक सच्याउन सरकारसँग वामदेव गौतमको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालयका सदस्य वामदेव गौतमले मिडिया काउन्सिल विधेयकप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन्। 

उनले सरकारले गत वैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सिल एनेको विधेयक सच्याएर मात्रै पारित गर्न सुझाव दिएका हुन् । 

बिहीवार विज्ञप्ति जारी गर्दै उनले सो कुरा बताएका हुन् । 

‘विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु’ उनले विज्ञप्तिमा भनेका छन्, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित लाग्दैन । यद्यपि, समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु ।’

साथै उनले विज्ञप्ति मार्फत पत्रकार मर्यादित हुनु पर्ने तर दश लाख जरिवाना प्रसंग अशोभनीय देखिएकाले सच्याउन सरकारलाई अग्रह गरेका छन् । 

प्रेस विज्ञप्ति
प्रस्तावित मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित गर्नुपर्छ नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्या्दित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन । यद्यपि, समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु ।

स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा हुन । बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन् । त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो ।

प्रेस, व्यावसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ । तसर्थ, हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै, कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मी मित्रहरुलाई पनि हार्दिक अनुरोध गर्दछु ।

वामदेव गौतम
नेकपा, सचिवालय सदस्य
काठमाडौं, नेपाल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?