को बन्ला नयाँ जेम्स बोण्ड ?

लोकपथ
130
Shares


काठमाडौं । ब्रिटिस अभिनेता आरोन टेलर–जोन्सनलाई ‘जेम्स बोण्ड’ चरित्रमा अफर गरिएपछि पुनः एकपटक ‘जेम्स बोण्ड’को भूमिकामा कुन अभिनेताले अभिनय गर्लान भन्ने चर्चा सुरु भएको छ । द सनले ‘किक–एस’ र ‘मार्बल’ फिल्मसका अभिनेता जोन्सनलाई ००७ स्पाई चरित्रका लागि औपचारिक रुपमा प्रस्ताव गरेको जनाएको छ । यो भूमिका यसअघि डेनियल क्रेगले निभाएका थिए ।

१६ वर्षभन्दा बढी पाँच जेम्स बोण्ड सिरिजमा अभिनय गरेपछि अभिनेता क्रेगले सन् २०२१ मा यो भूमिका छोडेका थिए । जेम्स बोण्डको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ पछि नयाँ फिल्म २६ औं हुनेछ ।यद्यपि बोण्ड फिल्म बनाउने इओन प्रोडक्सनले बोण्डका फिल्ममा आएका अनुमानमाथि आफूहरुले कुनै प्रतिक्रिया नजनाउने बताएको छ । फिल्मको निर्माण टिमका एक सदस्यले बाहिर आएका कुरामा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । जेम्स बोण्डको भूमिकालाई लिएर केही समययता अड्कलबाजी भने भइरहेको थियो ।

अभिनेता टेलरलाई अर्को बोण्डको रुपमा नामाकरण गरिएको बारे नुमेरो पत्रिकाले सोधेको प्रश्नमा उनले मानिसहरुले आफूलाई ‘जेम्स बोण्ड’को भूमिकामा देखेकोमा आफ्ना लागि त्यो ‘मनमोहक र अद्भुत’ भनेका छन् । ‘म यसलाई ठूलो प्रशंसाको रुपमा लिन्छु’, टेलरले भनेका छन् ।

३३ वर्षे टेलरले सन् २००९ मा जोन लेननको बायोपिक ‘नोवेयर ब्वाय’मा लेननको भूमिकामा अभिनय गरेका थिए । थ्रिलर फिल्म ‘नोक्टर्नल एनिमल’मा समेत अभिनय गरेका टेलरले यो फिल्मका लागि सन् २०१७ मा ‘गोल्डेन ग्लोब अवार्ड’ मा ‘बेस्ट सपोर्टिङ एक्टर’ को अवार्ड जितेका थिए ।

विगत तीन वर्षमा क्रेगलाई कसले पछ्याउने भनेर मिक्समा फ्याकिएका नामहरुको कुनै कमि छैन । कतिपयले क्रेगलाई पछ्याउने नाम खोज्नु निकै कठिन कार्य भएको बताएका छन् ।

‘क्याचिङ बुलेट्सः मेमोर्स अफ ए बोण्ड फ्यान’ का लेखक मार्क ओ’कोनेलले नयाँ बोण्ड केवल रेड कार्पेट सुट र अनुमोदनको घडीमात्र नभएको बताएका छन् ।

‘ऊ एक फिल्म स्टार, सिरिज र फिल्मको एक राजदुत, मिडिया कुटनीतिज्ञ, बृटिस संस्कृतिको अभिषिक्त छोरा र उत्पादन तथा समर्थनको एक अर्ब डलर इकोसिस्टमको अनुहार हुनुपर्छ । उसलाई संसारका कुनै पनि कुनाहरुमा जेम्स बोण्डका रुपमा तुरुन्तै चिन्न सकिन्छ । ऊ राम्रो देखिने, क्यामरा समात्न सक्ने र फूटबल पिचका आधारमा फिल्मको पर्दामा हाबी हुनसक्ने हुनुपर्छ, ’ उनले भनेका छन् ।

जेम्स बोण्डको दौडमा ‘सुपरमेन’ र ‘मिसनः इम्पोसिबल’ अभिनेता हेनरी काभिल पनि थिए । जो डेनियल क्रेग अघि चर्चामा थिए । उनले जेम्सको चरित्रमा अभिनय गर्न आफूलाई मन परेको र यो चरित्र धेरै रोमाञ्चक हुने बताएका छन् ।

बोण्डको चरित्रका लागि सबैभन्दा कान्छो नाम ३२ वर्षे डेमसन इद्रिसको पनि नाम आएको छ । उनी सन् २०१७ देखि २०२३ सम्म ६ सिजन प्रसारण भएको अमेरिकी टेलिभिजन क्राइम ड्रामा ‘स्नोफल’मा आफ्नो भूमिकाका लागि चिनिन्छन् । उनले नेटफ्लिक्सको साइ–फाइ एक्सन फिल्म ‘आउटसाइड द वायर’मा पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

सन् २०१९ मा फिल्म ‘लिटिल वुमन’मा अभिनय गरेका जेम्स नोर्टनको नाम पनि नयाँ जेम्स बोण्डका रुपमा सन् २०१८ मा बाहिर आएको थियो । उनले केही समयअघि मात्र ‘ए लिटिल लाइफ’को स्टेज प्रोडक्सनमा काम गरेका थिए । ३८ वर्षे उनले ‘म्याकमाफिया’ र ‘ह्याप्पी भ्याली’ जस्ता टेलिभिजन ड्रामामा पनि अभिनय गरेका छन् । उनले आफू जेम्स बोण्ड बन्न लागेको खबरलाई गलत भनी खण्डन गरेका थिए ।

त्यसो त टम हार्डे, इडरिस एल्बा र क्रिस इभान्सहरु पनि नयाँ जेम्स बोण्डका रुपमा चर्चामा आएका नाम हुन् । ५१ वर्षे अल्बाले जेम्स बोण्ड चरित्र निभाउनका लागि आफू धेरै बुढो भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?