‘मेरो चरित्रको प्रमाणपत्र स्टन्ट गर्नेहरुलाई दिनुपर्दैन’

लोकपथ
175
Shares

काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पछिल्लो समय देशको निजी क्षेत्र र उद्योगीमाथि राजनीति गर्न खोजिएको जिकिर गरेका छन् ।


बाँसबारी छाला जुत्ता कारखानाको जग्गा विवादमा सरकारी वकिलको कार्यालयमा बयान दिने क्रममा उनले आफ्नो व्यवसायीक जीवनको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई देखाउन नपर्ने चौधरीले बताए ।

देशको अर्थतन्त्र कठिन परिस्थितीमा गुज्रिरहँदा उद्योगी व्यवसायीमाथि गरिएको व्यवहारबाट रोजगारदाता, करदातासहित उद्योग क्षेत्रमा नकारात्मक सन्देश जाने समेत बताए ।

‘आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो । देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ।’ चौधरीले भने ।

त्यस्तै आफूूले राजनीतिका माध्यमबाट आफ्नो व्यवसायमा लाभ प्राप्त गर्ने मनोवृत्ति नगरेको समेत बताए ।

‘म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विसुद्ध राखिनुपर्छ भन्न चाहन्छु । राजनीतिका आफ्ना फोरम छन् । म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित संसद हुँ । तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन ।’ उनले भने ।

२०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ ।

सो प्रकरणमा अनुसन्धानका लागि उद्योगपति एवम् सांसद चौधरीको बयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सीआइबीले सरकारी वकिलको कार्यालय काठमाडौंका अधिकारीहरुको रोहबरमा चौधरीको बयान लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?