‘मैदान’ निर्माता बोनीविरुद्ध उजुरी

काठमाडौं । बलिउड अभिनेता अजय देवगनको ‘मैदान’ लामो समयदेखि चर्चामा आएको फिल्म हो । अमिता शर्मा निर्देशित फिल्म दर्शकको प्रतिक्षितमा पर्दछ । फिल्मको सार्वजनिक ट्रेलरले पनि दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ ।

यही बीचमा फिल्मका निर्माता बोनी कपुर यतिबेला आर्थिक मामलाका कारण विवादमा तानिएका छन् । बिलको भुक्तानी नगरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

एक बिक्रेताले उनीमाथि फिल्म ‘मैदान’को निर्माणका दौरान उपकरणको आपूर्तिका लागि एक करोड रुपैयाँ बिलको भुक्तानी नगरेको आरोप लगाएका छन् ।

मेहेराफ्रिन इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडका निनाद नयामपल्लीले बोनी र फिल्मका सहनिर्माताविरुद्ध उजुरी गरेका हुन् । बिक्रेताले कयौं पटक सम्पर्क गर्दा पनि निर्माताले पैसा भुक्तान गर्न ढिलाइ गरेको र डिसेम्बर २०२० देखि कुनै भुक्तानी नगरेको दाबी गरेका छन् ।

‘भुक्तानीको आसमा राखियो, दिइएन । कुनै बाटो नै बचेन र हामीले कानुनको सहारा लियौं । हाम्रो कानुनी नोटिसको कुनै जवाफ नमिल्दा हामी आश्चर्यमा छौं,’ निनादले भनेका छन् ।

यता बोनीले कम्पनीलाई केवल ६३ लाख रुपैयाँमात्र भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । ‘निनादलाई फिल्म रिलिज अघि भुक्तानी गर्ने भनिएको थियो । तर कोरोनाका कारण फिल्म रिलिज हुन सकेन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?