‘अगस्त्य–२’ दर्शकमाझ २०२६ मा

लोकपथ
7
Shares


काठमाडौं । गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ को दोस्रो भाग अर्थात् ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा दर्शकमाझ आउने भएको छ ।

हाल चौथो हप्तामा प्रदर्शनरत फिल्मको टिमले बुधबार राजधानीमा पत्रकारमाझ सिक्वेलबारे जानकारी दिएको हो ।
फिल्मका निर्देशक सौरभ चौधरीले स्क्रिप्टको काम भइरहेकाले सन् २०२६ मा दर्शकमाझ अझ परिष्कृत रुपमा फिल्म ल्याउन लागिएको बताए ।

‘अहिलेको फिल्ममा देखिएका कमी कमजोरीलाई सुधार्दै अझ राम्रो रुपमा अगस्त्यः च्याप्टर २ दर्शकमाझ दिनेछौं । एक्सन थ्रिलरमा मेरो पहिलो प्रयासमा म सफल भएँ भन्नेमा ढुक्क छु । अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि हाम्रो फिल्म चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा हो,’ उनले भने, ‘दर्शकको वर्ड अफ माउथ र उहाँहरुले देखाउनुभएको मायाप्रति हामी खुशी छौं । फिल्मका हरेक दृश्य एकअर्कासँग ‘कनेक्टेड’ छन् । जोकोही दर्शक दिमागलाई खाली बनाएर फिल्म हेर्न गएमा मात्र राम्रो फिल्म हेर्न सकिन्छ ।’

निर्माता अनिश तामाङले परीक्षामा सय नम्बरमा सय नै आउनु असम्भव रहेको जनाउँदै आफ्नो फिल्मलाई दर्शकले दिएको अंकले खुशी भएको बताए । ‘फिल्मले अहिले राम्रो पिकअप लिइरहेको छ । सकारात्मक र नकारात्मक समीक्षा आए पनि दर्शकको साथ पाइरहेका छौं,’ उनले भने ।

अभिनेता सौगात मल्लले फिल्म प्रमोसनका लागि मोफसल पुगेको स्मरण गर्दै दर्शकहरु आफू र फिल्मलाई विश्वास गरेर हलमा आएको बताए । अभिनेत्री मलिका महतले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् ।

फिल्ममा ‘त्रिपाठी’ चरित्र निर्वाह गरेका अभिनेता प्रमोद अग्रहरिले अहिले चलिरहेको फिल्मभन्दा ‘अगस्त्यः च्याप्टर १’ अब्बल बनेको बताए । ‘दर्शकले मेरो बोल्ने शैली, गेटअप र प्रस्तुतिलाई धेरै मनपराउनुभएको पाएँ । मेरा अन्य साथीहरु प्रति दर्शकको बुझाई पनि राम्रो देखें,’ उनले भने । हरेक चरित्रलाई दर्शकले नियालिरहेको आफूले बुझेकाले कलाकारले पनि आफ्नो अभिनयलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने चुनौती आफूले देखेको खुलाए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?