आज गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृती दिवस : भाषणमा किन ल्याउँथे ढुकुरको प्रसंग ?

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइराला घरिघरि ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिने गर्थे ।

‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ । न त्यो समाउन सकिन्छ न त हातकै ढुकुर रहन्छ’ कोइराला आफ्नो मन्तव्यमा यति उदाहरण दिन्थे र कुरा टुंग्याउँथे ।

कोइरालाको यो उदाहरणलाई तात्कालिक सन्दर्भ अनुसार अर्थ लाएर विवेचना गरिन्थ्यो भने यसैलाई आआफ्नो सुविधा अनुसार व्याख्या गरेर राजनीतिको मसला पनि बनाउने गरिन्थ्यो । तर कोइराला स्वयंले भने यसको विस्तारमा विश्लेषण गरेनन् ।

कोइरालाको निधन भएको आज १४ वर्ष पूरा भएको छ । नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

कोइरालाकी पुत्री सुजाताले भने आज शारीरिक रुपमा असक्त बालबच्चाहरुलाई दिवा भोजन गराएर पिताजीलाई श्रध्दाञ्जलि अर्पण गर्ने भएकी छिन् । उनी पिताजीलाई सानु बुवा भन्छिन् । ‘आज जोरपाटीमा अशक्त बालबच्चाहरुलाई दिवा भोजन गराउने कार्यक्रम छ, अरु बेला अरु नै किसिमका सेवाका कार्यहरु त चलिरहेकै छन्’ सुजाताले भनिन् ।

स्वर्गीय कोइरालाको अगुवाईमा भएको जनआन्दोलन पछि हिंसात्मक सशस्त्र द्वन्द्व गरिरहेको माओवादी पार्टी शान्ति प्रक्रियामा आएको थियो । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री कोइराला त्यसपछि राजनीतिमा सक्रिय भूमिकामा आउन नपाई संसारबाट विदा भएका थिए ।

उनको स्मृति दिवसमा नेपाली कांग्रेस केन्द्रीय समितिले भने कुनै कार्यक्रमको आयोजना गरेको छैन । देशभरका ७७ वटै जिल्ला कार्यसमितिले भने कोइरालालाई सम्झने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रले नै सबै जिल्लालाई कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको हो ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए र बिगठित प्रतिनिधि सभाको पुनस्थापना नै समस्याको एकमात्र समाधान हो भनेर उनले त्यसमै अडान लिईरहे ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

पछि जनआन्दोनको दवावमा राजाले निरंकुश सत्ता छाड्दा प्रतिनिधि सभाको पुनस्थापनाको घोषणा गरेका थिए र पुनस्थापित प्रतिनिधि सभामा माओवादी समेत प्रवेश गरेको थियो ।

आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाका सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरिदिएको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु वीपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।
चार पटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यबाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो ।

बोलेको कुरा पु¥याउने राजनेताका रुपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।
माओवादीलाई मूलधारको राजनीतिमा ल्याएकै कारण माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाबाबुलाई सम्झिरहन्छन् ।

तर नेपाललाई गणतन्त्रात्मक मुलुक बनाउन सफल कोइरालालाई राष्ट्रपति बन्नबाट भने तिनै प्रचण्डले रोकेका थिए । कांग्रेससँग सहकार्य गर्दा प्रचण्डले कोइरालाको नाम लिन भने बिर्सिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?