पुटिनको मार्केल र म्याँक्रोसँग फोनवार्ता

एजेन्सी । गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गर्नुभएको क्रेमलिनले जनाएको छ । 

टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राख्नुभएको समाचारमा जनाइएको छ । वार्ताका क्रममा सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको उल्लघङ्न गरेको विषयमा समेत छलफल भएको थियो । 

सिरियाको विषयमा सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलमा चार पक्षबीचको सम्मेलन भएको थियो । यी चार पक्षमा रुस, टर्की, जर्मनी र फ्रान्सको सहभागिता थियो । उक्त सम्मेलनका अवसरमा सिरियामा राजनीतिक समाधानको रुपरेखाका लागि सबैको समन्वय आवश्यक हुने भन्दै एक सहमति भएको थियो ।  

सिरियाको उत्तरपश्चिम प्रान्त हामामा रहेको एक शहरमा विद्रोही समूह र रुस समर्थित सिरियाली सैनिकबीच भएको झडपमा कम्तिमा ४० लडाकूको मृत्यु भएपछि पछिल्लो वार्ता भएको हो । 

सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको ज्यान गइसकेको छ । इडलिब प्रान्तमा करीब ३० लाखको बसोवास छ । 

गत सोमवार पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जना सर्वसाधारणको मृत्यु भएको थियो । 

हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले पनि पुष्टी गरेको छ । रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतवार पुनः हवाई आक्रमण भएको थियो । 

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएपछि रक्तपात मच्चिएको थियो ।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँको सङ्ख्यामा घाइते भएका छन् भने अरु बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?