कांग्रेसको छानबिन समिति बनाउने मागबारे ओलीले भने– ‘त्यो सम्भव छैन’

लोकपथ
217
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले उठाएको मागबारे छानबिन समिति बन्न सम्भव नरहेको जिकिर गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले त्यस्तो जिकिर गरेका हुन् ।

कांग्रेसले गृहमन्त्रीविरुद्ध छानबिन समिति बनाउने माग गरिरहेको छ त्यो के हुन्छ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘अब केका लागि बन्ने त्यो समिति ? सम्भवै छैन । त्यो सम्भव छैन ।’

त्यस्तै कांग्रेस सत्ता भन्दा बाहिर रहेको कारण अहिले विभिन्न बखेडा झिकेर संसदमा अवरोध सिर्जना गरिरहेको समेत आरोप लगाए । साथै परिपक्क प्रतिपक्ष हुनका लागि समेत ओलीले कांग्रेसलाई आग्रह गरे ।

‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । सरकारभन्दा बाहिर हुने बित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेग उत्तेजना देखाउने आग्रह देखाउने अनि प्रतिशोधी खालका अभिव्यक्ति क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्तो क्रियाकलाप गर्नुहुँदैन ।’ ओलीले भने, ‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्क प्रतिपक्षको भूूमिकाको आह्वान गर्छौँ ।’

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै गृहमन्त्रीको राजीनामा माग समेत गरिरहेको छ । साथै गृहमन्त्री लामिछानेविरुद्ध छानबिन गर्न छानबिन समिति माग समेत कांग्रेसले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?