संसदमा भत्तामात्रै खाने र सत्तामात्रै चलाउने छन : नेता महर

लोकपथ
70
Shares


काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन् ।

प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम विषय भएपनि त्यसमा ह्रास हुनेक्रम बढ्दो रहेको बताए ।

‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानविन हुनुपर्छ । कारबाही सिफारिसका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ,’ उनले भने, ‘संसदमा लामो समयदेखि उच्चस्तरीय छानविन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन ।’

सांसद साच्चिकै देश र जनताप्रति जिम्मेवार छन् भने सदनमा नाटकवाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्नेमा उनको जोड थियो ।महरले त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए ।

समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ ।

‘कानुन र नैतिकता अलि फरक हुन् । कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ । नैतिकता भनेको उसले पालना गर्ने आचरण हो । तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हु्न्छ, उनले भने । यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ ।

नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनले बताए ।संसद जनताकाप्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ । संसदमा पुगेर कोही भत्तामात्रै खाने र कोही सत्तामात्रै चलाउने धाउन्नमा रहेको उनले बताए । यसले जनउत्तरदायित्व नदेखिएको उनको ठहर छ ।

यस्तै वर्तमान सरकारमा नै विभिन्न विवादमा मुछिएका र अनुसन्धानको दायरमा रहेका व्यक्तिहरू मन्त्री रहेकाले यसले राजनीतिक नैतिकता नदेखाउने महरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?