शान्ति प्रक्रिया सत्ता लेनदेनको विषय होइन : साउद

लोकपथ
182
Shares

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एनपी साउदले शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतीमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
सोमबार एनसिएल मोडेल संयुक्त राष्ट्र २०२४ उदघाटन समारोहमा उनले शान्ति प्रक्रियाको काम अन्तिम चरणमा पुगेको भन्दै यसलाई सत्ताको लेनदेनको विषय बनाउनुभन्दा राष्ट्रिय सहमतीमा सम्पन्न गर्नुपर्ने बताए ।

उनले भने, ‘शान्ति प्रक्रियालाई टुङ्गाएर अगाडि बढ्नुपर्ने हुन्छ । यसलाई राजनीतिक वादविवादको विषय बनाउनुभन्दा पनि शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतीको विषय बनाएर यसलाई टुंगाएर अगाडि बढ्नु पर्ने आवश्यकता छ यो कामको लागि सबै राजनीतिक दलहरु, नयाँ पुस्ताहरु पनि लाग्नुपर्छ । यसको काम अन्तिम चरणमा पुगेको हुनाले यसमा सत्ताको लेनदेनको विषय बनाउनुभन्दा पनि यो एउटा राष्ट्रिय समस्या हो यसलाई राष्ट्रिय सहमतीमा सम्पन्न गर्नुपर्छ ।’

उनले नेपालका चुनौतिहरु समाधान गर्नको लागि पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै यसको लागि सबै दलहरु स्थानमा उभिन पर्ने बताए ।उनले भने, ‘नेपालका चुनौती र समाधानहरु के के हुन् भनेर एउटा राष्ट्रिय सहमतिको आवश्यकता अझै पनि छ । त्यो राष्ट्रिय सहमतीमा सबै शक्ति अटाउनु पर्छ । सबैलाई समेट्न सके मात्रै राष्ट्रिय सहमती हुन्छ र यसको लागि सबै दलहरु एकै स्थानमा उभिन आवश्यक छ ।’

यस्तै, उनले साना राष्ट्रले आफ्नो रक्षा गर्नका लागि यूएन जस्तो संस्थाको आवश्यकता भएको भन्दै कमजोर मुलुकहरुको पक्षमा बोल्नको लागि बलियो मञ्च संयुक्त राष्ट्रसंघ नै भएको बताए ।उक्त कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले यूएनको विकल्प बलियो, व्यवस्थित भएको बताए ।उनले नेपाल जस्तो देशहरुको लागि संयुक्त राष्ट्रसंघ महत्वपूर्ण भएको भन्दै यसको प्रभावकारीता बढाउन नेपाल जस्तो देशको भूमिकाबारे छलफल आवश्यक भएको पनि बताए ।

उनले भने, ‘नेपाल जस्तो देशहरुको लागि संयुक्त राष्ट्र संघ महत्वपूर्ण हुन्छ । नेपाल यूएनमा सबैभन्दा अगाडि छ । यूएनले गर्दा धेरै युद्धहरु रोकिएको अवस्था छ, मानव अधिकारलाई सबैले स्विकार गर्नुपर्ने अवस्था बनेको छ । यसको साथै यूएनका केही चुनौतीहरु पनि छन् । अति आवश्यक परेको क्षेत्रमा यूएन धेरै प्रभावकारी बन्न सकिरहेको छैन् । यसलाई प्रभावकारी बनाउनु पर्छ र यसको लागि नेपाल जस्तो देशको भूमिका के हुन सक्छ । यसबारेमा पनि छलफल गर्न पर्छ ।’

यस्तै, पूर्व विदेश विभाग सचिव युवराज चौलागाईले पनि देशभित्रको अन्तरविरोध र संगती नमिलेको कारण दुख भोग्नु परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए । प्रजातन्त्रमा केही नेता र पार्टी मात्रै बलियो भएर संस्था बलियो हुन सकेन भने देश विकास हुन नसक्ने पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?