गण्डकीमा नयाँ ‘ट्वीस्ट’ : दिपक मनाङे मन्त्री बन्दै

लोकपथ
689
Shares

काठमाडौं । गत निर्वाचनमा मनाङमा स्वतन्त्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) मन्त्री बन्ने भएका छन् । निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेलाई मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री बनाउने तयारी गरेको स्रोतले लोकपथलाई जानकारी दियो ।


‘त्यसबारेमा छलफल भइरहेको छ । कुरा मिल्यो भने आजै मन्त्री बनाउन लागिएको हो ।’ स्रोतले भन्यो ।
केन्द्रको समीकरणमा आएको फेरबदलपछि गण्डकी प्रदेश सरकार संकटमा परेको छ, त्यससँगै मुख्यमन्त्री पाण्डेले सरकार जोगाउने कसरत गरिरहेका छन् ।


मनाङे यसअघि पनि पटकपटक मन्त्री बनिसकेका छन् ।

केन्द्रको नयाँ राजनीतिक समीकरण अनुसार एकीकृत समाजवादी पनि सरकारमा सामेल भएको छ । तर प्रदेशमा सरकारलाई समर्थनसहित मनाङे मन्त्री बन्न लागेपछि गण्डकीको राजनीतिमा नयाँ ट्वीस्ट थपिएको हो ।

यद्यपी उनले आइतबार एकीकृत समाजवादी परित्यागको घोषणा गर्दै आफूलाई स्वतन्त्र सांसदकै हैसियतमा राख्न गण्डकी प्रदेश सचिवालयलाई आग्रह गरेका छन् ।

माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका पाण्डेले माओवादीका २ मन्त्रीलाई बर्खास्त गरेर नयाँ ढंगले अघि बढ्ने संकेत गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशमा नेपाली कांग्रेस २७, नेकपा एमाले २२, माओवादी केन्द्र ७, नेपाल समाजवादी पार्टी १, राप्रपा २ र १ स्वतन्त्र सांसद रहेका छन् ।


गण्डकीको आँकडा हेर्दा बहुमतका लागि ३१ मतको आवश्यक्ता पर्दछ । तर केन्द्रको सत्ता समीकरण अनुसार गण्डकीमा पनि माओवादी एमालेसहितले सरकार बनाउन सक्ने सम्भावना कम देखिन्छ । माओवादी र एमाले मिलेको अवस्थामा पनि बहुमत पुग्ने देखिँदैन । यता डा। बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीको एक, एकीकृत समाजवादीको एक र राप्रपाको २ सिट बहुमतका लागि चाहिने भए पनि केन्द्रको गठबन्धनमा नरहेका कारण त्यो मत एमाले माओवादी गठबन्धनले पाउने अवस्था नरहँदा कांग्रेस नेतृत्वकै सरकार बन्ने सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?