प्रधानमन्त्रीको जिकिर– ‘कांग्रेसबाट धोकै धोका भएपछि गठबन्धन तोड्न बाध्य भएँ’

लोकपथ
224
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट पटकपटक धोका भएका कारण आफूले गठबन्धन परिवर्तन गर्नुपरेको जिकिर गरेका छन् ।


यसअघि कांग्रेससँग चुनावी गठबन्धन गरे पनि कांग्रेसबाट भोट ट्रान्सफर नभइ सबै प्रकारका निर्वाचनमा धोका भएको कारण गठबन्धन फेर्नुपरेको बताए ।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यसैगरी गण्डकी प्रदेश सरकारका बारेमा आफूहरु छलफलमा रहेको र केही समयमा टुंगिने समेत बताए ।

‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।’ उनले भने ।

नयाँ गठबन्धन बनेपछि देशको राजधानी सही बाटोमा आएको समेत बताए । कम्युुनिष्ट आन्दोलन विभाजित भएको हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जाने र त्यसले व्यवस्थामाथि नै संकट ल्याउने बताए ।

‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो ।’ उनले भने, ‘त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।’

त्यस्तै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाउन लागेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?