वाफ उपविजेता महिला राष्ट्रिय फुटबल टोलीलाई गुरुङको १० लाख

लोकपथ
910
Shares

काठमाडौं । साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल–११ का यमबहादुर गुरुङ (यम तमु) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ दिएका छन् ।

साउदी अरेबियामा फागुन  १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको प्रदर्शनबाट प्रभावित भएकाले महिला टोलीलाई १० लाख रुपैयाँ दिएका हुन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई उक्त रकम उपलब्ध गराइसकेका छन् ।

लामाले गुरुङकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने बताइन् । टोलीमा २३ खेलाडी छन् । 

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो ।  निर्धारित समयको २–२ गोलको बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

विगत १५ वर्षदेखि साउदीमा रहेका गुरुङले ५ वर्षदेखि साउदीको रियादमा लालीगुराँस नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

‘महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरुको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ गुरुङले भने, ‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?