तारेभिर हत्याकाण्ड : हत्यामा संलग्न एक युवक पक्राउ, एकतर्फी प्रेमका कारण हत्या भएको प्रारम्भिक अनुमान

लोकपथ
5k
Shares

काठमाडौं । काठमाडौँको तारेभिरमा हत्या गरी शव गाडेको अवस्थामा फेला सुस्मा लामाको हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार राती एक युवकलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा स्थानीय रुपेन्द्र लामा रहेका छन् । उनी तारेभिरकै स्थानीय युवा हुन् । एकतर्फी मायाका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


गत फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरमा एक युवतीको शव गाडेको अवस्थामा फेला परेको थियो । शवको उत्खनन गर्दा मृतक १८ वर्षीया सुस्मा लामा भएको पुष्टि भएको थियो ।


सुस्मा गत माघ २२ गतेबाट नै हराएकी थिइन् । घरबाट निस्किएको ३ दिनसम्म पनि घर नफर्किएपछि परिवारले माघ २५ गते प्रहरी वृत्त वौद्धका सुस्माको खोजतलासको लागि निवेदन दिएको थियो ।


सुस्मा गोकर्णेश्वरकै एक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्थिन् । कलेज जान भनी घरबाट निस्किएकी सुस्मा नफर्किएपछि परिवारले सुरुमा विवाह गरेर कतै गएकी हुन् कि भनेर अनुमान गरेको थियो । तर घटनाको एक महिनापछि उनको शव भेटिएको थियो । हात बाँधेर गाडेको अवस्थामा गोकर्णेश्वरको जंगलमा सुस्माको शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?