हजुरआमाको हत्या गरेको आरोपमा नातिसहित २ जना पक्राउ

विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते फेला परेकी थिइन् ।

त्यसपछि घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले घटनामा संलग्न रहेका मृतककै नाति १८ वर्षीय धीरज विश्वकर्मा र उनका साथी स्थानीय १८ वर्षीय राजु मल्लिकलाई पक्राउ गरेको हो ।

गाँजा खाएर नशाको सुरमा बिकले फागुन २६ गते राति हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउकामा प्रहार गरेको प्रहरीले जनाएको छ ।

वृद्धाको घटनास्थलमै मृत्यु भएको थियो । हत्यापछि साथी राजु मल्लिकको सहयोगमा घरनजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रहरीले पत्ता लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?