‘अविश्वास’का बिच प्रधानमन्त्रीले पाएको विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

निर्वाचन सम्पन्न भएको १६ महिनाको दौरानामा उनले विभिन्न समीकरण फेर्दै तेस्रोपटक आज विश्वासको मत प्राप्त गरे ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा प्रधानमन्त्रीसहित १५ जनाको सम्बोधन रहेको थियो । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित राप्रपा, जनमत, जनमोर्चा लगायतका दलहरुले विपक्षमै मतदान गर्ने घोषणा गरे ।

दलीय आधार र स्वतन्त्र सांसदहरुले पक्ष विपक्षमा बोल्दैगर्दा संसदको गतिविधि रोचक बनेको थियो । विपक्षमा मत दिनेहरुको अभिव्यक्तिमा कुण्ठा, आक्रोश त छँदैथियो । यता पक्षमै मतदान गर्नेहरुले पनि सौहार्द रुपमा मत दिने बचन दिन सकेनन् । दलीय आधार र स्वतन्त्र रुपमा बोलेका सांसदहरुको पनि कतै न कतै शंका र अस्थीरताको कारण उनै हो की भन्ने भाव झल्किन्थ्यो ।


त्यसैकारण पनि प्रधानमन्त्री प्रचण्ड स्वंमले नै विश्वासको मत पनि विश्वा शिलो तरिकाले दिन आग्रह गर्नुपर्ने अवस्था सिर्जना भयो । यसअघिका पटकपटकको धोकाको श्रृंखला नै हो उनीमाथि राजनीतिक दल र सांसदहरुको विश्वास घट्दै गएको ।

भागबण्डा र आशंकाबीच प्रचण्डले प्राप्त गरेको १५७ मत कतिबेला अल्पमतमा पर्छ शंकाको विषय बनेको छ । यति लेखिँदरहँदा आग्रह र पूर्वाग्रह मिश्रित धारणा रहेको भान हुन सक्दछ । तर एकपटक संसदको दृष्यतिर हेर्दा प्रचण्डले पाएको विश्वासको मतमा कति विश्वास र कति अविश्वास थियो त्यसले प्रष्ट देखाउँछ ।

फेरिएको परिस्थिती अनुसार ‘जुन तालमा मादल बज्यो उही तालमा नाच्न जान्ने’ कला देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरुलाई भित्तामा पुर्याउँदै प्रचण्डसँग काँध मिलाएर अघि बढ्ने बचन त दिए । तर त्यससँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मुख खोल्न समेत आग्रह गर्दै घुमाउरो भाषामा नयाँ सत्ता समीकरणका लागि तयार रहन निम्तो दिए । त्यसो त २०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि पहिलो बनेको कांग्रेस र दोस्रो बनेको एमाले मिलेर सरकार बनाउनुपर्ने धारणासहितको प्रस्ताव एमालेको थियो । तर कांग्रेस मौन बस्दै माओवादीसँगको प्रेमिल सत्तायात्रालाई नै दीर्घकालिन सम्झिँदा तेस्रो माओवादीले कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षमा पुर्याइरहेको छ । एमालेले ग्रीन सिग्नल दिँदापनि गठबन्धनप्रति धेरै उदारता देखाउँदा सत्ता र प्रतिपक्षको रोटेपिङमा हल्लिएको कांग्रेसले अब कुन बाटो लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।


आजै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको संकेतलाई कांग्रेसले बुझेमा प्रचण्डको सत्तायात्रा त्यति लामो हुन नसक्ने धारणाहरु विकसित हुन थालेका छन् ।


चुनाव लड्दा ५ वर्षसम्मसँगै यात्रा गर्ने कसम खाएको दल माओवादी निर्वाचन सम्पन्न भएको १ महिना नपुग्दै अर्को दलसँग सहयात्रासहित सत्तायात्रामा निस्कियो । माओवादीबाट धोका मात्र होइन धोकाको श्रृखंला पाएको कांग्रेसले अब एमालेसँगको सहकार्यमा अघि बढ्ने विश्लेकषहरुको तर्क छ ।


आजैको संसदको दृष्य हेर्ने हो भने प्रचण्डलाई विश्वासको मत दिने दलहरुले नै केही नै केही बार्गेनिङमा विश्वासको मत दिए । सो क्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले हठात रुपमा तीन प्रदेशका प्रदेश प्रमुखहरु फेर्दा मधेशी अनुहार नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले विश्वासको मत दिने त भने साथसाथै केही मागहरु समेत अघि सारे । प्रधानमन्त्रीसँग विभिन्न भाग खोजेको र भाग नपाएमा अप्रीय कदम चाल्ने चेतावनी दिए ।


‘अब तपाईंले गरेका प्रतिबद्धता अनुसार हामी आफ्नो भाग खोज्छौँ । यदी हाम्रो भाग न्यायसंगत लागेन भने त्यतिबेला हामीले त्यतिकै रुपमा हिसाब माग्नेछौँ । त्यो हिसाब अप्रीय पनि हुनसक्छ ।’ उनको चेतावनी थियो ।


त्यति मात्र होइन, यसअघि नै एक वर्ष पार्टीले प्रधानमन्त्री पाउनुपर्ने लिखित सम्झौता खोजेको दल एकीकृत समाजवादी विश्वासको मत दिँदै अविश्वास व्यक्त गर्यो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गर्न रोस्टममा पुुगेका सांसद राजेन्द्र पाण्डेले नेकपा विभाजनपछिको सहकार्य र अप्ठेरोमा छोडेको लामो फेहरिस्त सुनाए । उनले आफ्नो पार्टीले गरेको विद्रोह र दुखका दिनमा सँगै रहेको र आज सुखमा हुँदा आफूूहरुलाई छाडेर अनैतिक काम गरेको भन्दै प्रधानमन्त्रीप्रति औँला उठाए ।

त्यतिमात्र सदनमा मात्र होइन सडकमा पनि प्रधानमन्त्रीका सन्दर्भमा छिटो रंग फेर्ने प्राणीका रुपमा टिप्पणी हुन थालेको बताउँदै विश्वासको मत दिने दिनमा नै अविश्वास गर्नु बिडम्बनाको विषय रहेको बताए ।


साथै एकीकृत समाजवादीको अन्य राजनीतिक सम्झौता त छँदैहोला साथसाथै बजेट निर्माणमा सांसदहरुको भूमिका नभएमा त्यही दिन सरकारलाई दिएको समर्थन फिर्ता लिने बुझिने भाषामै अभिव्यक्त गरे ।


‘बजेट निर्माणमा सांसदको भूमिका भएन भने हामी त्यो दिन भोट हाल्न सक्दैनौँ । हामी विश्वासको मत दिन सक्दैनौँ ।’ उनले भने ।

यसअघि नै धोका पाएकाहरु एक ठाउँमा पुगेमा के हुन्छ भन्दै प्रधानमन्त्रीप्रति नैतिक संकट पार्ने प्रश्न गरेको कांग्रेसले आज पनि उही भाषा दोहोर्यायो । जसबाट प्रधानमन्त्री केही सतर्क रहेको देखिन्थ्यो ।

यता मिसन २०८४ को यात्रामा निस्किएको दल राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता फेरबदलपछि बिच बाटैबाट यात्रालाई बिराम दिएर सत्तामा उक्लिएपछि नैतिक प्रश्न उसमाथि बर्सिन थालेको छ ।


यसअघि नै कांग्रेसका मन्त्रीहरुको कारण काम गर्न नसकेको भनेर गठबन्धन तोड्न पुगेको बयान दिने गरेका प्रधानमन्त्रीमाथि रास्वपाकै सांसदहरुको गतिविधिले प्रश्नको घेरामा घेरिएका छन् । यसअघि आरोप लागेका कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएको भन्दै प्रतिपक्षीको बेन्चमा रहेको एमालेले निरन्तर संसदमा बबन्डर मच्चाइरहेको थियो । तर आजैबाट रास्वपाबाट सरकारमा सामेल भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपबारे आगामी दिनमा संसदमा एमालेकै रुपमा प्रस्तुत हुने संकेत दिइसकेको छ ।

कांग्रेस सचेतक सुशिला थिङले सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कटाक्ष गरिन् । साथै अबको सदनहरु त्यति सहजै चल्न नदिने चेतावनी समेत दिइन् ।

आफूमाथि विश्वास गर्ने र नगर्नेहरुको कुरा सुनिसकेपछि पुुनः रोस्टममा पुगेका प्रधानमन्त्री प्रचण्डले देश आफ्नै कारणले केही अस्थिरता सिर्जना भएको घुमाउरो तरिकाले मूल्यांकन गरे । राजनीतिक स्थायीत्वका लागि संघर्ष गरेको बताउने प्रचण्डमाथि अस्थिरताको बिल्ला ओडाइएपछि स्थिरताका लागि एमाले र कांग्रेस मिल्दा हुन्छ भन्दै घुर्की र धम्की समेत दिए । उनले धोका पाएकाहरु मिले के हुन्छ भन्ने कांग्रेसीहरुलाई दुई दल मिलेपनि आफू नडराउने भन्दै आक्रोशित भए । उनले रोस्टमबाटै आक्रोशित हुँदै ‘डराउँदैन प्रचण्ड’ भन्दै रोष व्यक्त गरे । एकातिर घट्दै गएको विश्वासको अंकगणीत र अर्कोतिर राजनीतिक अस्थिरतको प्रश्न आफैँमाथि ओइरिन थालेपछि प्रचण्डको भाषणमा आशंका मिश्रित सत्ता यात्रामा छिट्टै केही घटबढ हुन्छ की भन्ने चिन्ता व्यक्त थियो ।

प्रचण्डले तीन पटक पाएको विश्वासको मतको ग्राफ हेर्ने हो भने प्रधानमन्त्रीप्रति संसदको विश्वास घट्दै गइरहेको छ । २०७९ साल पुस २६ गते पहिलोपटक संसदमा विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्रीलाई २७५ मध्ये २६८ सांसदको विश्वास रहेको अंकगणीत थियो । फेरि राजनीतिक समीकरण फेरिएपछि दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्रीले संसदबाट विश्वास घट्दै १७२ मत प्राप्त गरे ।

आज तेस्रोपटक विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्रीको विश्वासको अंकणीतीय आँकणा पुनः घटेर १५७ मा ओर्लिएको छ । यसरी आफू नमरुन्जेलसम्म उथलपुथल हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइलाई नै सापटी लिने हो भने अब प्रधानमन्त्रीको उथलपुुथल सत्तामै बसेर हुन्छ या सत्ता बाहिर रहेर हुन्छ त्यो भने भविष्यले निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?