सेयर बजार घट्यो, १ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट

लोकपथ
65
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक संसद्मा विश्वासको मत लिइरहँदा बुधबार सेयर बजार कारोबारमा गिरावट आएको छ । १३ मध्ये आठ उपसमूहका कम्पनीहरुको सेयरमूल्य सूचक घटेका छन् ।बैंकिङ, होटल र पर्यटन, जलविद्युत, लगानी, उत्पादन र प्रशोधन, निर्जीवन बीमा, व्यापार उपसमूह घट्दा समग्र कारोबार घटेको हो ।

नेप्से २.४८ अंकले गिरावट आएर परिसूचक २१०८.७२ अंकमा रह्यो । बुधबार १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा कारोबार भएको छ । यो अघिल्लो दिनमा तुलनामा करिब ३१ करोडले कम हो । मंगलबार १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको थियो ।

१३३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा लगानीकर्ताले गुमाएका छन् । सेयरमूल्य घटेका कम्पनीमा माथिल्लो तामाकोसी, दोर्दीखोला जलविद्युत, सिद्धार्थ इक्विटी फण्ड, बलेफी हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड–२ लगायत शीर्ष ५ मा छन् ।
९६ कम्पनीको सेयरमूल्य भने बढेको छ । बढ्नेमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य उपसमूह छन् ।

सर्वाधिक कारोबार हुनेमा आज पनि शिवम् सिमेन्ट अगाडि रह्यो । उक्त कम्पनीको सेयर २५ करोड ५३ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै सोनापुर मिनरल्सको २० करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्स २० करोड ६३ लाख र माथिल्लो तामाकोसीको १५ करोड ५४ लाखको सेयर किनबेच भएको छ । १४ कम्पनीको सेयरमूल्यमा कुनै घटबढ भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?