प्रचण्डलाई आफ्नो क्षेत्र छाडेका बाबुराम अर्को निर्वाचन गोरखा–२ बाटै लड्ने

लोकपथ
203
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचन गोरखा क्षेत्र नं २ बाट लड्ने घोषणा गरेका छन् ।

लामो समय गोरखाको आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरेको र त्यहाँका मतदाताहरुले सो क्षेत्र नछाड्न आग्रह गरेका कारण सोही क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेको भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।

‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसंग बृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्विकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।’ उनले भनेका छन् ।

२०६४, २०७० र २०७४ को निर्वाचन गोरखा क्षेत्र नं २ बाट जितेका डा. भट्टराईले गत निर्वाचन भने वर्तमान प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका थिए । आफ्ना केही नेताहरुलाई माओवादीको चुनाव चिह्नबाट लडाएर आफू त्यतिकै बसेका डा. भट्टराईले आगामी निर्वाचन आफ्नै क्षेत्रबाट लड्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?