अमेरिकी राष्ट्रपतिले भने– ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’

लोकपथ
104
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन् । राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ । यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन् । म पुटिनलाई भन्न चाहन्छु ‘हामी युक्रेनलाई कहिल्यै त्याग्ने छैनौं र हामी रूससँग कहिल्यै झुक्ने छैनौं ।’

बाइडेनले युक्रेनका लागि सहयोग जारी राख्न संसदलाई अपील पनि गरे । आप्रवासीको बारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘म आप्रवासीहरूलाई ट्रम्पजस्तो राक्षस ठान्दिनँ । उहाँजस्तै, म आप्रवासीहरूले अमेरिकाको रगतमा विष हाल्दैछन् पनि भनीहाल्दिन ।’

उनले मानिसहरूलाई उनीहरूको धर्मको आधारमा प्रतिबन्ध नलगाउने भन्दै संसारको हरेक कुनाका मानिसहरूका लागि अमेरिका सुरक्षित ठाउँ भन्ने विश्वास जगाउनुपर्ने बताए ।

यसैगरी, युक्रेन युद्धमा अमेरिकी सेना नजाने पनि प्रष्ट पारेका छन् । युक्रेनले रुससँग प्रतिस्पर्धा गर्नका लागि हामीसँग हतियारको मामिलामा सैन्य सहयोग मागेको छ । ट्रम्पको नाम नलिई बाइडेनले भने– ‘पूर्व राष्ट्रपतिले रुसलाई नेटो देशहरू विरुद्ध मनोमानी कारबाही गर्न उक्साएका थिए । उनी पुटिनको अगाडि झुके । यस प्रकारको कथन अत्यन्त खतरनाक छ र स्वीकार गरिने छैन ।’

आफू कोरोनाबाट सत्तामा आएको स्मरण गर्दै त्यतिबेला देशको आर्थिक अवस्था नाजुक रहेको र अहिले सरकारले यसलाई फेरि माथि उठाएको दाबी गरे । उनले मानिसहरू अमेरिकाको अर्थतन्त्रप्रति इष्र्या गर्ने अवस्थामा पुगेको बताउँदै तीन वर्षमा १.५ करोड नयाँ रोजगारीका अवसरहरू सिर्जना गरेको सुनाए ।

इजरायल–हमास युद्धबारे बाइडेनले इजरायलको आफ्नै सुरक्षाको अधिकार रहेको बताउँदै हमास युद्ध अन्त्य गर्न चाहन्छ भने उसले आफ्ना हतियार त्याग्न र कैदीहरूलाई रिहा गर्नुपर्ने कुरामा जोड दिए ।

युद्धमा ३० हजार प्यालेस्टाइनी मारिएका छन् । यीमध्ये अधिकांश हमासका लडाकु होइनन् । यसैगरी इजरायलले मानवीय सहायतालाई गाजा पुग्न अनुमति दिनुपर्ने कुरामा पनि राष्ट्रपति बाइडेनले जोड दिए ।

चुनावी वर्ष भएकाले बाइडेनले आगामी वर्षका लागि सरकारको एजेण्डालाई पनि सार्वजनिक गरेका छन् । अमेरिकी पत्रिका ‘द हिल’का अनुसार आम जनताका लागि नयाँ योजना र विदेश नीतिका विषयमा बढी ध्यान केन्द्रित गरिएको छ । यसका साथै राष्ट्रपतिले भविष्यका चुनौतिहरुको पनि वर्णन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?