वीरगञ्जमा खुल्यो गरिमा विकास बैंकको शाखा कार्यालय

काठमाडौं । गरिमा विकास बैंकले प्रदेश २ को वीरगञ्जमा आफ्नो ७४ औँ शाखा विस्तार गरेको छ । 

बैंकले बुधवार वीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको हो । 

उक्त शाखा कार्यालयको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका हुन् । 

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त  बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र वीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए  ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाइसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए ।  

कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा, वीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता , वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोपाल केडियालगायतले आफ्नो मन्तव्य समेत राखेका थिए ।   

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७६ शाखा र ३१ वटा एटीएम सञ्चालनमा छन् । बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । 

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?