को बन्ला पाकिस्तानको नयाँ प्रधानमन्त्री ?  

लोकपथ
741
Shares

काठमाडौं । पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै छ । प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरुहुने छ । पाकिस्तानमा पनि नेपालमा जस्तै संसदबाट प्रधानमन्त्री चुन्ने प्रचलन छ ।

हालै सम्पन्न आम निर्वाचनबाट पाकिस्तानमा त्रिशंकु संसद बनेकाले गठबन्धनको बलमा प्रधानमन्त्री चयन हुने छ । जसमा नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका छन् । यो गठबन्धनले नवाजका भाई हम्जा शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

इमरान खानलाई समर्थन गर्ने सांसदहरू अब सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) पार्टीको गठबन्धनमा छन् । इमरान खानले उमर अयुब खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् । उनी पीटीआईका महासचिव तथा पूर्व राष्ट्रपति अयुब खानका नाति हुन् ।

जियो न्यूजका अनुसार पीएमएल–एन र पीपीपी बाहेक मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) र इश्तेखाम–ए–पाकिस्तान पार्टीले पनि शाहबाज शरीफलाई समर्थन गरिरहेका छन् । यसपछि उनको जित लगभग निश्चित मानिएको छ । मौलाना फजल–उर–रहमानको पार्टी जेयूआई–एफले निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै प्रधानमन्त्रीको निर्वाचन बहिष्कार गरेको छ ।

पाकिस्तानमा ८ फेबु्रअरीमा आम चुनाव भएको थियो । चुनावमा कुनै पनि दलले बहुमत पाउन सकेनन् । तर,इमरानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् ।

त्यसपछि संसदको पहिलो अधिवेशन फेबु्रअरी २९ मा सबै सांसदले सपथ लिएका थिए । त्यसपछि सभामुख र उपसभामुखको निर्वाचन भएको थियो । दुवैमा पीएमएल–एनको समर्थन भएका उम्मेदवार विजयी भएका छन् ।

प्रधानमन्त्री निर्वाचित भएपछि पाकिस्तानमा मार्च ९ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । पीएमएल–एन र पीपीपीले संयुक्त रूपमा आसिफ अली जरदारीलाई आफ्नो उम्मेदवार घोषणा गरेका छन् । इमरान समर्थक एसआईसीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?