काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कमिटी बैठक अन्योलमा परेको छ ।
तदर्थसमिति गठनको झण्डै ७ महिनापछि बस्न लागेको केन्द्रीय कमिटी आन्तरिक किचलोका कारण अन्योलमा परेको हो ।
आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर नेविसंघको संस्थापन इतर समूहको विभिन्न मागहरु पूरा नभएको भन्दै असन्तुष्टी जनाएपछि बैठक अनिश्चित बनेको हो ।
त्यसो त असन्तुष्ट पक्षले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर त्यस विषयमा ध्यानाकर्षण गराएको थियो । हरेक विषयमा ४० प्रतिशतको माग गरिरहेको उक्त समूहले यसअघि अध्यक्ष दुजाङ शेर्पाले गरेका निर्णयहरु खारेजीको समेत माग गरेको छ । आफूहरुको मागप्रति सभापति देउवा सकारात्मक भएको नेविसंघका केन्द्रीय सदस्य कृष्ण सुुवेदीले जानकारी दिए । सोही क्रममा सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई फोन गरेर असन्तुष्ट पक्षलाई मिलाएर लैजान निर्देशन दिएको उनले बताए ।
‘हाम्रो मागप्रति सभापतिज्यू सकारात्मक देखिनुभयो । त्यँहीबाट नेविसंघका अध्यक्षज्यूलाई फोन गरेर असन्तुष्ट पक्षको मागलाई ध्यानमा राखेर मात्र केन्द्रीय कमिटी बैठक राख्न निर्देशन दिनुभएको छ ।’ सुवेदीले भने ।
गत साउन २३ गते सभापति देउवाले नेविसंघमा ७१० जना मनोनित गरेका थिए । त्यसो त २०७८ चैत ९ गते सभापति देउवाले महाधिवेशन गराउने जिम्मासहित शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । तर अधिवेशन गर्न नसकेको भनेर आलोचनाकाबीच बोलाइएको केन्द्रीय कमिटी बैठक नै विवादमा परेको हो ।
यसअघि नै विभिन्न जिल्लाको अध्यक्ष मनोनयनमा आफूखुसी निर्णय गरेको भन्दै शेर्पाको आलोचना समेत हुँदै आइरहेको छ ।
हरेक २–२ वर्षमा हुनुपर्ने नेविसंघको महाधिवेशन २०७२ सालयता हुन सकेको छैन । त्यसयता २ जना अध्यक्ष बने पनि अहिलेसम्म महाधिवेशन हुन नसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया