वैशाख २८ मा ‘खजुरे ब्रो’

लोकपथ
0
Shares


काठमाडौं । ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म ‘खजुरे ब्रो’ले फस्टलुक सार्वजनिक गर्दै आउँदो वर्षको वैशाख २८ गते रिलिज मिति घोषणा गरेको छ ।
शनिबार धरानमा आयोजित १२ औं संस्करणको ‘धरान रन’ मा फस्टलुक सार्वजनिक गर्दै मिति घोषणा गरेको हो ।

रोयल भीमसेन डिजाइन गरेको फस्टलुकमा फिल्मका प्रमुख चार कलाकार रियर राई, नीति शाह, महेश त्रिपाठी र नबिन मानन्धर फिचर्ड छन् । निर्माता नबिन मानन्धरले धरानमा छायाङ्कन गरिएको फिल्मको फस्टलुक धरानकै दर्शकको सम्मान स्वरुप सार्वजनिक गरिएको बताए ।

अभिनेत्री नीतिले आफ्नो ‘डेब्यू’ फिल्मको सुटिङ सकेर प्रदर्शन मिति सार्वजनिक हुँदा खुशी लागेको बताइन् । फिल्मका लेखक तथा निर्देशक सुरज सुनुवारले धरानसँग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफूलाई छोएकोले यो फिल्म आफ्ना लागि विशेष रहेको बताए ।

फिल्ममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि विशेष भूमिकामा अभिनय गरेका छन् । उनले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाङ्कन गरिएको उल्लेख गर्दै फिल्मले दर्शकको मन जित्ने दाबी गरे ।

फिल्मको टिमले मेयर साम्पाङको श्रमदान अभियानमा सहयोग गरेको छ । हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृति पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको थियो । उक्त अभियानमा फिल्मका निर्माता, लेखक तथा निर्देशक सुरज सुनुवार, कलाकार तथा निर्माता नवीन मानन्धर, कलाकार रेयर राई, पुष्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।

फिल्ममा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ । फिल्ममा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय छ ।
दिव्य दृश्य इन्टरटेन्टमेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ । फिल्ममा अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन् । फिल्ममा शिशिर बिसंखेको छायाङ्कन र अनमोल गुरुङको संगीत छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?