आफ्नो सबै दायित्व अर्को कम्पनीलाई बिक्री गरेर बाहिरियो अमेरिकी प्रविधि कम्पनी कोटीभीटी

लोकपथ
286
Shares

नेपालमा दर्ता भएर काम गर्दै आएको अमेरिकी प्रविधि कम्पनी कोटीभीटी आफ्नो सबै दायित्व अर्को कम्पनीलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ।
नेपाल इन्फाइनाइटल कम्प्युटर सोलुसनले कोटीभीटी नेपाल खरिद गरेको छ। इन्फाइनाइटल पनि अमेरिकी कम्पनी नै हो। विश्वका विभिन्न देशमा कार्यालय स्थापना गरेर सफ्टवेयर डेभलपमेन्टको काम गर्दै आएको यो कम्पनीले पनि कोटीभीटीको जस्तै काम गर्छ।
कोटीभीटी इन्कको सहायक कम्पनीका रुपमा नेपालमा रहेको बिजनेस इन्फाइटलाई बिक्री गरेको घोषणा भएपनि कुन र कस्तो प्रकृतिको सम्झौता हो भन्ने कुरा अझैसम्म खुलेको छैन।
स्रोतहरूका अनुसार कानूनी रुपमा बिक्रीको नाम दिएपनि व्यवहारिक रुपमा भने फरक देखिएको छ। कुनै पनि कम्पनीको खरिदबिक्री हुँदा कर्मचारी पनि नयाँ कम्पनीको पार्ट हुन्छन् तर यसमा त्यस्तो नभएको बताइएको छ।

कोटीभीटी नेपालमा काम गरिरहेकाहरूलाई राजीनामा दिन लगाएर इन्फानाइटमा जोडिन भनिएको छ। खरिद बिक्रीको नाममा कर्मचारीको दायित्व छल्ने कोशिस भइरहेको कर्मचारीहरूले गुनासो गरेका छन्।

श्रोतका अनुसार ‘सामान्यतया कुनै पनि कम्पनीबाट जागिर छाड्दा केही रकम दिनुपर्छ त्यो पनि दिइएको छैन तर यहाँ राजीनामा दिन लगाएर नयाँ नामको कम्पनीमा भर्ना हुन अफर दिइएको छ। कतिपयले त छाडिसके उनीहरूले यत्रो वर्ष काम गर्दा पनि खाली हात गएका छन्’ ।

स्वास्थ्य सेवासँग सम्बन्धित प्रणाली बनाउने कम्पनी कोटीभीटी इन्कlले नेपालमा ३ सय जनालाई रोजगारी दिँदै आएको थियो। पछिल्लो समय कर कार्यालयको अडिटमा पनि परेको थियो।

नेपालमा दर्ता भएर सञ्चालन भएपनि मुख्य कम्पनीको स्वामित्व परिवर्तन हुँदा वा नेपालमै पनि हुने कारोबारको नियमित रिपोर्टिङ नगरेको भन्दै कर कार्यालयले पत्र काटेको थियो।

कोटीभीटीको मुख्य कम्पनीमै पनि लगानीकर्ता परिवर्तन भएको थियो। हालैमात्र अमेरिकामा रहेको कम्पनीमा लगानी संरचना परिवर्तन भएको थियो। सफ्टवेयर डेभलपमेन्टको काम गर्नेमध्ये नेपालमा रहेकामा सबैभन्दा प्रतिष्ठितमध्येमा कोटीभीटीलाई पनि लिइन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?