अन्तर स्कुल क्रिकेट : कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

लोकपथ
0
Shares

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा रविन मण्डलले सर्वाधिक २५ रन बनाए । मनकामनाका लक्ष्मण तामाङले ३ विकेट लिए ।

१ सय २ रनको लक्ष्य पछ्याएको मनकामनाले १६ दशमलव २ बलमा सबै विकेट गुमाई ९२ रन बनायो । जस्मा अंकित मल्लिकले सर्वाधिक १२ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच गोपाल मण्डल र रितिक यादवले ३–३ विकेट लिए ।आजै भएको दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाई ७६ रनको योगफल तयार पारेको थियो । जस्मा सौरभ बजाजले सर्वाधिक २८ रनको योगदान दिए । अरनिको म्यान अफ द म्याच साजन यादवले ३ विकेट लिँदा साइसर कोइरालाले २ विकेट लिए ।

७७ रनको विजयी लक्ष्य पाएको अरनिकोले १४ ओभरमा ४ विकेट सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा अविशेक यादवले २६ रन बनाउँदा लुसाङ गुरुङले २० रनको योगदान दिए । नेपाल गुरुकुलका मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?