अस्पतालमा नभेटिएका चिकित्सक प्राइभेट क्लिनिकमा भेटिए

कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभइ निजी क्लिनिकमा भेटिने गरेका छन् ।

अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन् । क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न भ्याइनभ्याइ हुने गरेको छ । त्यतिमात्र नभइ अस्पतालमा बिरामी जाँच गर्दागर्दै पनि क्लिनिकबाट फोन आउनेबित्तिकै बिरामीको जाँच गर्न छाडेर चिकित्सक निजी क्लिनिकमा  जाँचका लागि जाने गरेको बिरामीको गुनासो छ । ‘पूर्जी काट्नका लागि घण्टौँ लाइनमा बसेपछि पालो आउँछ, बिरामी जाँच गर्ने कक्ष पुग्दा डाक्टर भेटिँदैनन्,’ बर्दियाबाट चेकअपको लागि टीकापुर अस्पताल पुगेका शेरबहादुर विष्टले भने, ‘यति टाढाबाट आयौं, घण्टौं लाइन बस्यौंँ, कक्षमा डाक्टर हुँदैनन्, फेरि निजी क्लिनिकमै जानुपर्ने बाध्यता हुन्छ ।’ 

अस्पतालमा बिरामी जाँच गर्दागर्दै चिकित्सकहरु त्यताका बिरामीलाई अर्को पटक जाँच गर्न आउँदा क्लिनिकमै बोलाउँछन् । चिकित्सकले क्लिनिकमा जाँच गरेको पूर्जी शुल्क रु पाँच सयसम्म असुल्ने गरेका छन् । पुर्जी  शुल्क संँगसँगै नानाभाँतीका औषधि पनि थम्याउने गरेको बिरामीले बताउने गरेका छन् । अस्पतालको यस्तो समस्या अहिलेको भने होइन ।

अस्पताल विकास समितिले यस्ता समस्याको जनगुनासो बढी आउन थालेपछि अस्पतालको प्रवेशद्वारमै सिसी टिभी क्यामरासमेत जडान गरेको छ भने डिजिटल हाजिरीको समेत व्यवस्था गरेको छ  तर पनि यो कार्य रोकिएको छैन । चिकित्सक अस्पतालमा समयमै आउँछन् तर हाजिर लगाएर फेरि निजी क्लिनिकमै जाने गरेको एक औषधि पसलेले नाम नछाप्ने शर्तमा बताए । उनले टीकापुर अस्पतालमा कार्यरत चिकित्सकको मनपरीले कैयौंँ पटक जटिल खालको समस्या आउने गरेको बताउँदै सिसी टीभी क्यामरा हुँदाहुँदै कार्यकक्षबाट कम्प्युटरसहितका सामान चोरी हुनाले पनि ठूलो शङ्का उब्जाएको आशङ्का गरे ।

अस्पतालले आफ्नो हाताभित्र सहुलियत औषधि पसल नै सञ्चालनमा ल्याए पनि  यसबारे अधिकांश बिरामीलाई थाहा नै छैन । चिकित्सकले सहुलियत औषधि पसल हुँदाहुँदै पनि आफ्नै क्लिनिकमा औषधि किन्न पठाउने गरेका छन् त केही पूर्जी हातमा बोक्दै आफ्नै क्लिनिकमा समेत पुग्ने गरेका छन् । त्यति मात्र नभई औषधि लेखेर पुर्जी दिँदा चिकित्सकले बिरामीलाई यो औषधि अन्त कतै नपाइने भएकाले बाहिर फलानो मेडिकलमा जानू भनेर भनेको बिरामीले जनाएका छन् ।

चिकित्सकले अस्पतालको उपचारका सामग्रीको प्रयोग निजी क्लिनिकमा लगेर गर्ने गरेको समेत पाइएको छ । क्लिनिकमा लिइएका कति सामानहरु अस्पताल फर्किन्छ त कति सामान क्लिनिकमै हराउँछन् ।

तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खड्काले चिकित्सकले निजी क्लिनिकमा बढी समय दिएको स्वीकार गरे । ‘अस्पताल विकास समितिले अस्पतालको सबै निगरानी गथ्र्यो हाल मेरो कार्यकाल सकिएको पनि दुई महिना भइसकेको छ,’ खड्काले भने, ‘डाक्टरहरु ड्युटी नै छोडेर जान्छन्, यो गुनासो पहिले पनि आउने गरेको थियो, अहिले अस्पताल नेतृत्वविहीन अवस्थामा छ । नभएको होला भन्न सक्ने अवस्था छैन ।’

टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा बालरोग विशेषज्ञ ल्याएको छ  तर आर्थिक मसान्त सकिनै लाग्दा बालरोग विशेषज्ञ अस्पतालमा रहने÷नरहने भन्ने अन्योल पनि बढ्दै गएको छ । ‘नगरपालिकाको चालु बजेटमा बालरोग विशेषज्ञ ल्याएको हो,’  खड्काले भने, ‘अब बालरोग विशेषज्ञ रहने÷नरहने अन्यौलता बढेको छ । साथै अस्पताल विकास समिति नेतृत्वविहीन अवस्थामा हुँदा जिम्मेवारी नगरपालिकाले लिनुपर्ने भएकोले नगरपालिका गैरजिम्मेवार देखिएको छ ।’

गत असार महिनामै अस्पताल विकास समिति नरहने निर्णय सरकारले गरेपछि टीकापुर नरगपालिका र अस्पताल विकास समितिका अध्यक्षबीच पनि ठूलो मनमुटाव रहँदै आएको छ । हालको अवस्थासम्म अस्पताल प्रदेश कि स्थानीय तहको मातहतमा रहने भन्ने अझै स्पष्ट भइनसकेको बताउँदै खड्काले टीकापुर अस्पताल सेती अञ्चल अस्पतालपछिको जिल्लाकै ठूलो सामुदायिक ठूलो अस्पताल रहेको जिकिर गरे ।

स्रोतसाधनले सम्पन्न भए पनि दरबन्दीअनुसार चिकित्सक नहुनु र दरबन्दीका चिकित्सकले पनि आफ्ना निजी क्लिनिकलाई बढी प्राथमिकता दिनुले अस्पतालमा आउने बिरामीलाई सास्ती भइरहेको छ ।  टीकापुर अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी जाँचका लागि आउने गरेका छन् ।  

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२​ छुटाउनुभयो कि हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?