काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् भने अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गरिएको छ ।
तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रूपैयाँ र हालका अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख १७ हजार ४५८ रूपैयाँ बिगो दाबी गरिएको छ ।
विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको बताइएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया