राजपा नेता महन्थ ठाकुरको दुखेसो, ‘मधेशमा जन्मिएकै कारण नेपाली भन्ने सौभाग्य पाइन’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले आफूले नेपाली भन्ने सौभाग्य नपाएकोमा दुखेसो पोखेका छन् । 

‘आफू मधेशमा जन्मिएकै कारण नेपाली भन्ने सौभाग्य पाइएन’ उनले भने । 

सोमवार बिहान ११ बजेबाट शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राजपा नेता ठाकुरले सो कुरा बताएका हुन् । 

समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेशी भनेर विभेद गर्दै आएको नेता ठाकुरले बताए । 

उनले भने, ‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो ।’ 

‘मधेशी परिवारमा जन्मिएको हुँ, मधेशी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन’ उनले नेताहरुलाई नै प्रश्न गरे, ‘समानताको कुरा गर्नुहन्छ, तर के समानता छ ?’

त्यस्तै उनले नागरिकताका विषयमा समेत प्रश्न गरेका छन् । 

‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ?’ प्रश्न गदै नेता ठाकुरले भने, ‘गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’

‘आखिर कहिलेसम्म नागरिकताको विषयमा प्रश्न पठाइन्छ’ उनले थप्दै भने । 

‘नागरिकताको कुरा सुन्नासाथ हाम्रो त दम घुट्छ, सास लिने अवस्था हुँदैन । आफ्नै घरमा, आफ्नै खेत र खलियानमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ’ उनले भने, ‘कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो माइन्डसेटलाई तोड्नुपर्छ ।’

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?