नेता र कलाकारबीचको फुटबल बराबरीमा

लोकपथ
574
Shares

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको नेता र कलाकार बीचको फुटबल सोमबार खेल बराबरीमा सकिएको छ ।

फागुन ११ देखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका लागि लागि सातदोबाटोस्थित एन्फा मैदानमा नेता–कलाकारबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । खेलमा दुवै टिम ३–३ गोलको बराबरीमा रहे ।

मैत्रीपूर्ण खेलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरुले बाहिर राम्रो अवसर पाउने हुनाले बाहिरिने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नका लागि नेपालको खेलको स्तर बढाउनुपर्ने बताए ।

‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसर राम्रो छन्, तर हामीले पनि आफ्नो स्तर बढाउनुपर्छ । आफ्नै राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय टिमको जस्तै खेल्न सक्नेगरि स्तरवृद्धि गर्नुपर्छ । म प्रधानमन्त्री हुँदा पोखरा, जनकपुरमा रंगशालाको निर्माण भएको थियो र खेलाडीहरुको लागि राम्रो वातावरण पनि भएको थियो,’ उनले भने, ‘कसैलाई सुन्न मन लाग्दैन त के गरौ ? तर खेलाडीहरुका लागि पुरस्कारदेखि सबै काम गरेका थियौं ।’

उनले आफू मैदानमा भएको भए जुन पोष्ट नजिक छ त्यहीँ गोल हान्ने भन्दै दुईवटै टिम आफ्नै भएको पनि बताए । उनले भने, ‘राजनीतिज्ञहरुले आफूले गोल नहानेर कलाकारहरुलाई जिताउन कस्तो राम्रो भूमिका खेल्नु भयो । म मैदानमा भएको भए कति गोल लाग्थ्यो कति, जुन पोष्ट नजिक छ त्यहीँ हाने भइहाल्यो ।’खेलमा नेताको टिमबाट एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, महेश बस्नेतलगायत थिए भने कलाकारमा धिरेन शाक्य, आकाश श्रेष्ठ, केदार घिमिरेलगायत मैदानमा उत्रेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?