काठमाडौं । सरकारले तयार पारेको आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णाली सांसदले कर्णाली प्रदेशलाई नीति तथा कार्यक्रममा समावेश नगरेको प्रति आपत्ति जनाएका छन् ।
आइतवार प्रतिनिधिसभाको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतले आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई समावेश नगरेकोप्रति आपत्ति जनाएका हुन् ।
‘सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नुन बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ’ महतको गुनासो छ ।
‘केही दिन पहिले जाजरकोटमा नेपाल खाद्य संस्थानले पठाएको चामल बाटामा नै बेचियो’ उनले भने, ‘नीति तथा कार्यक्रम राम्रो छ, यो मेरो पार्टीको सरकार हो तर कर्णालीलाई जुन उचाइबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो त्यसो भएन, त्यसमा कमजोरी भएको छ ।’
‘कर्णालीका जनताले सिटामोल र अहेव खोजिरहेका छन् । हामी कर्णालीमा डाक्टर खोजिरहेका छौं । तर सुगम क्षेत्रका तपाईंहरु डाक्टर अब बढी भयो भनिरहनुभएको छ ।’ उनले थप्दै भने, ‘हामी खरिदार मुखिया खोजिरहेका छौँ, तपाईंहरु रोजी–रोजी सचिव फेरिरहनुभएको छ ।’
‘हामी उता खच्चड र ट्याङ्करलाई माला लगाइरहेका छौँ । तपाईंहरु विमानस्थल ठूला–ठूला बनाउने भनिरहनुभएको छ ।’ महतले गुनासो पोख्दै भने, ‘ठूला विमानस्थल पनि बनाउने हो । तर कर्णालीलाई पनि सम्बोधन गर्नुपर्यो भन्ने मेरो भनाइ हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया