नेकपा संसदीय दलको बैठक : प्रचण्डले भने, ‘मेरो सरकार’ पछि घुसाइयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ पछि घुसाइएको बताएका छन् । 

शुक्रवार अपराह्न राष्ट्रपति विद्यावेदी भण्डारीले संसदमा प्रस्तुत गरेको २६ पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रम त्यहाँ प्रस्तुत हुनअगावै नेकपा अध्यक्ष प्रचण्डले पढेका थिए । तर, प्रचण्डले पढ्दा त्यहाँ ‘मेरो सरकार’ लेखिएको थिएन । 

‘त्यसमा ‘मेरो सरकार’ घुसाउने काममा प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक पार्टीका अन्य नेताहरुको संलग्नता रहने कुरै भएन’ अध्यक्ष प्रचण्डले भने । 

शनिवार दिउँसो संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा नेकपा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

बैठकमा नेकपा सांसदहरुले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनिएकोबारे प्रश्न उठाएका थिए । 

बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै एक सांसदले भने, ‘संसदमा राष्ट्रपतिले वाचन गर्नुअघि प्रचण्डजीले नीति तथा कार्यक्रम पढ्नु भयो तर, आफूले पढ्दा त्यहाँ मेरो सरकार नलेखिएको बताउनुभयो ।’ 

‘मैले पढ्दाखेरि त्यहाँ कतै पनि मेरो सरकार लेखिएको थिएन, पछि घुसेछ,’ प्रचण्डले बैठकमा भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?