एमाले प्रमुख सचेतकको आरोप– ‘प्रधानमन्त्री विकासमा भन्दा पनि स्टन्टबाजीमा रमाउन थाल्नुभयो’

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान प्रधानमन्त्री स्टन्टबाजीमा लागेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले प्रदेशको नामांकनको विषयमा प्रधानमन्त्रीले कुनै एक समूहलाई मात्र रिझाउने गरी देशमा धार्मिक र सांस्कृतिक द्धन्द भड्काउने काममा लागेको आरोप लगाए ।

‘प्रधानमन्त्री पपुलिस्ट बन्ने काममा लाग्नुभएको छ । नेपालकै संविधान बमोजिम भएका नेपालका कतिपय प्रदेशका नामांकन गरियो ।’ उनले भने, ‘केही समूहले चित्त बुझाएन विरोध गर्यो । स्वंम प्रधानमन्त्री पपुलिस्ट बन्ने पनि एउटा हद हुन्छ । तपाईहरु लाग्नुस् आन्दोलन गर्नुस्, तपाईहरुले लाग्नुभयो भने जातीय राज्य पनि म दिन्छु भन्दिनुहुन्छ । देशको प्रधानमन्त्री जसले देशको संविधानको रक्षा गर्नुपर्ने हुन्छ । तर सस्तो स्टन्टबाजमा रमाउने स्थिती बन्दैछ ।’

त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शुरु गरेका कामहरु वर्तमान सरकारले लथालिंग अवस्थामा पुर्याएको आरोप लगाए ।

‘एमाले नेतृत्वको सरकारले गर्न लागेका कामहरु अहिले अलपत्रस्थितीमा पुर्याइएको छ ।’ उनले भने, ‘कुनै पनि क्षेत्रमा सरकारले इमान्दारितामा कामहरु गरिएको छैन ।’

वर्तमान सरकार लोकतन्त्रमा विश्वास गर्ने र लोकतन्त्रमा जनताहरुले आफ्नो आवाज निर्भिकतापूर्वक रुपमा सडकमा आएर आफ्नो धारणा राख्न पाउने भनिए पनि आवाज उठाउने जनतामाथि बन्दुक पड्काएर तर्साउने कामले शान्ति स्थापना हुन नसक्ने बताए ।

‘सरकारको अकर्मन्यता र सरकारको लाचारी र बेमानीपूर्ण कुराहरुको विरुद्ध जनताहरु सडकमा आउँदा गोली चलाएर हत्या गरेर देशमा शान्तिपूर्ण वातावरण निर्माण गर्छु भनेर सरकारले दिवास्वप्न नदेखोस् ।’ उनले भने ।

रुकुम पश्चिम र जाजरकोटमा रहेका भूकम्पपीडितहरुको अवस्थाको बारेमा सरकारले काम गर्न नसकेको आरोप लगाए ।

त्यसैगरी सरकारले पावरफुुल व्यक्तिहरु काण्डमा मुुँछिदा पनि थुन्न नसक्ने प्रवृत्ति देखाइरहेको टिप्पणी गरे ।

‘सरकारले कमजोर मान्छेहरुलाई ल्याएर थुन्ने, कारबाही गर्ने अलि बलिया मान्छेहरुलाई सरकार परैबाट भाग्ने यस्तो पनि सरकार हुन्छ ? नागरिकप्रतिको जिम्मेवारी हुन्छ ?’ उनले भने ।

सरकार सुनकाण्ड र एनसेल काण्ड लगायत काण्डहरुमा रमाइरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?