काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सार्वजनिक जग्गा हडप्नेहरुलाई सरकारले कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दलको आधारमा कानुन विपरितको काम गर्ने व्यक्तिहरुलाई शक्तिका आधारमा उन्मुक्ति दिन नहुने बताए । जसका लागि राजनीतिक दलहरुले पनि व्यक्ति र घटना हेरेर आफ्नो धारणा बनाउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।
‘हाम्रो पनि डबलस्ट्यान्डर्ड हुनु हुँदैन । हामीले पनि घटना हेरेर व्यक्ति हेरेर धारणा बनाउनुहुँदैन । जोसुकै होस्, जस्तोसुकै शक्तिशाली होस् । राजनीतिक शक्ति होस् की आर्थिक शक्ति होस् । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनुपर्दैन ? जतिसुकै शक्तिशाली होस् जुनसुकै पदमा बसेको होस् नागरिकता बनाउँदा किर्ते गरेको छ भने फलानो दलसँग जोडिएको छ त्यसकारण उसको किर्ते माफी हुन्छ भनेर चल्छ ? जतिसुकै शक्तिशाली र जुनसुकै तागत भएको होस् आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ र ठगीको धन्धाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनुपर्र्दैन् ?त्यसैले सुशासनको आजको दिनको मन्त्र भनेको कानुनको शासन विधिको शासन । चाहे जग्गा मिचेको होस् चाहे जग्गा हडप्ने होस् चाहे नागरिकताको किर्ते गर्ने होस् । चाहे सहकारीमा ठग्ने होस् यताको होस् उताको होस् यो दलको होस् र दलभन्दा बाहिरको होस् जतिसुकै शक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुँदैन । एउटा सर्वसाधारण नागरिकले जुन कुरामा दण्ड पाउँछ त्यसले पनि त्यसैगरी दण्ड पाउँछाँै ।’ उनले भने ।
नागरिकप्रति सरकारको भरोसा गुम्दै गएको बताउँदै सांसद थापाले सरकारले नागरिकप्रतिको भरोसा फर्काउन काम गर्न आग्रह गरे ।
अहिले एकले अर्कोलाई अर्कोले अर्कोलाई दोषारोपण गरेर मात्र देश निर्माण नहुने बताए । देशभर भौतिक निर्माणको काम लथालिंग रहेको बताउँदै त्यसलाई सहज बनाउन समेत आग्रह गरेका छन् । कुनै परियोजनाको जिम्मेवारी पाएको ठेकेदारको सन्दर्भमा अन्य देशका गएर सोही व्यक्तिले प्रतिष्पर्धाका आधारमा काम गरिरहेको र नेपालमा किन काम गर्न नसकेको भनेर प्रश्न समेत गरेका छन् ।
‘कुनै व्यक्ति अन्य देशमा गएर काम गर्दा राम्रोसँग प्रतिस्पष्र्धा गरेर काम गरिरहेको छ । तर यहाँ किन राम्रोसँग काम गर्न सकिरहेका छैनन् ?’ उनले भने ।
त्यस्तै वर्तमान सरकारले फरक परिणाम ल्याउनका लागि फरक तरिकाले काम गर्न आग्रह गरे ।
‘उही काम गरेर फरक परिणाम आउँदैन, काम गर्ने तरिका बदल्नुपर्दछ । सरकारले सुशासनको पक्षमा मैले काम गरे भनेर मात्र हुँदैन । सरकारले गरेको कामले नागरिकले महसुस गर्नुपर्दछ ।’ उनले भने ।
त्यस्तै संसदको यो अधिवेशनमा आवश्यक कानुन निर्माण गरेर फलदायी बनाउन शुभकामना समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया