काठमाडौं । सरकारले आगमी आर्थिक वर्ष २०७५–०७६ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज (शुक्रवार) सार्वजनिक गर्ने भएको छ ।
आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यावेदी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।
संघीय संसद सचिवालयका अनुसार सरकारले बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ ।
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि सरकारले यसबारे छलफल गर्ने र संघीय संसद सचिवालयले बढीमा तीन दिनसम्म यसबारे छलफल गर्ने तयारी गरेको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि त्यसको अनुमोदन प्रक्रिया अघि बढ्ने संघीय संसद सचिवालयले जानकारी दिएको हो ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा असन्तुष्टि जनाएको छ ।
कांग्रेसले बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको भन्दै असन्तुष्टि जनाएको हो ।
गत वर्षहरुमा बजेट पूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया