परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘चीन भ्रमण ऐतिहासिक, सफल, फलदायी र सार्थक भयो’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज (बिहीवार) देश फर्किएका छन् । 
उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गरे । 

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा भएको चीनको राजकीय भ्रमण समग्रमा ऐतिहासिक, निकै सफल र फलदायी तथा सार्थक भएको बताए । उनले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाउने बताए। 

उनले चीनसँग बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएको र त्यसले आगामी दिनमा नेपालका विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने आफूले ठानेको बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीका साथमा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?