काठमाडौं । प्रतिनिधि सभाको बैठक कार्यतालिका अनुसार बस्ने भएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठक कार्यतालिका अनुसार बस्न लागेको हो ।
प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनका लागि कार्यतालिका लागू गर्न लागिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बैठकमा सभामुख घिमिरेले भने– ‘प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु ।
हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरौं । माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’
त्यस्तै बैठकमा बोल्दै कानुनमन्त्री धनराज गुरुङले लामो गृहकार्यपछि उक्त नियम लागू गर्न लागिएको बताए । त्यसले बैठक बस्ने दिनको बारेमा हुने द्विविधाको अन्त्य हुने बताए । ‘धेरै गृहकार्य गरेर सम्मानीय सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेका छौं । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ ।’ उनले भने ।
आजको बैठकको निर्णय अनुसार आजबाट सुरु हुने अधिवेशन अन्तर्गत माघ महिनामा २ वटा मात्र बैठक बस्नेछ । भने फागुन महिनामा ५ दिन बैठक बस्नेछ । जसमा फागुन ६,१०,११,१३ र १४ गते बैठक बस्नेछ ।
जसमा कार्यसूची समेत तय गरिएको छ । यसअघि पनि प्रतिनिधि सभा बैठकमा सांसदहरुको उपस्थिती न्यून हुन थालेपछि कार्यतालिका अनुसार संसद बैठक चलाउनुपर्ने माग हुँदै आइरहेको थियो ।
त्यस्तै अबबाट संसदमा उपस्थित सांसदहरुको विद्युतमा हाजिरीमा उपस्थित र उपस्थित हुनेहरुको विवरण वेबसाइटमा सार्वजनिक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया