टेलिकमको विकासमा आत्मसमीक्षा जरुरी : मन्त्री शर्मा

लोकपथ
42
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्मसमीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् ।

सोमबार नेपाल टेलिकमको २०औं वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर उम्कनसक्ने अवस्थामा नरहेको भन्दै सरकारको तर्फबाट आत्म समीक्षा गर्न नीतिगत समस्या समाधान गर्न तयार रहेको बताईन् ।

उनले भनिन्, ‘हामीले एक अर्कालाई दोष लगाएर उम्कन सक्ने अवस्थामा छैनौ, त्यसकारण गम्भीरतापूर्वक समीक्षा गरौं, सरकारको तर्फबाट हामी आत्म समीक्षा गर्न तयार छौ, नीतिगत रुपमा कहाँ के समस्याको समाधान गर्न पर्ने हो हामी तयार छौ । तर कार्य सम्पादनको सवालमा तपाईहरुले आत्मसमीक्षा गर्नुपर्छ । आत्मसमीक्षालाई मूल बनाउ अर्कालाई दोष दिने कुरा सहायक मात्र बनाऔं ।’

उनले कमजोरीलाई सुधार गर्न योजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गर्न आवश्यक भएको पनि बताइन् ।

उनले भनिन्, ‘आज हामीले अघि सारेका सेवा सुधारका योजनाहरु र आय वृद्धिमा कार्ययोजनाहरुको प्रगतिको स्मरण र मूल्यांकन गर्ने समय हो । साथै हासिल गर्न नसकेका उपलब्धीको कारण के हो त्यसको समीक्षा गर्दै कमीकमजोरीलाई सुधार गर्न योजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न संकल्प गर्ने दिन पनि हो ।’

दूरसञ्चारको क्षेत्रमा देखिने बेतिथी र अन्यौलत हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवैखालका काम अगाडि बढाइरहेको भन्दै कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित गर्न आग्रह गरिन् ।

नेपाल टेलिकम नेपाल सरकारको अधिक्तम स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र लक्ष्य पूर्ति गर्न ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेगरि आफ्नो नीति, योजना तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन दिइन् । कार्ययोजना र लक्ष्य अनुसार अघि बढ्दै फोरजी सेवाको विस्तार, अप्टिकल फाईबर योजनाहरु छिटो सम्पन्न गर्न, सेवाको गुणस्तरमा सुधार गर्न, आय चुहावटको नियन्त्रण गर्न पनि मन्त्री शर्माले निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?