काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भृकुटीमण्डप परिसर प्रयोग गरेको भाडा तिरेका छैन ।
बक्यौता साढे चार कारोड पुगेपछि भृकुटीमण्डप परिषद्ले पैसा नतिर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ भने परिषद्ले सार्वजनिक गर्ने नाममा नेकपा र कांग्रेससँगै विभिन्न संघ–संगठनसमेत पर्ने भएका हुन् ।
परिषद्को हातामा कार्यक्रम गरेर भाडा नतिर्नेमा नेकपा, कांग्रेस, राप्रपा नेपाल र कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रहेको स्रोतले जनाएको छ ।
त्यस्तै नेपाल पर्यटन बोर्ड, पत्रकार महासंघ काठमाडौं शाखा, उपभोक्ता संरक्षण मञ्च नेपाललगायत विभिन्न संघ–संस्थालाई पटक–पटक ताकेता गर्दाै पनि पैसा नतिरेको परिषद्का एक अधिकारीले बताए ।
नेकपाले ६० हजारका दरले १ लाख २० हजार रुपैयाँ समाज कल्याणलाई तिर्न बाँकी छ । दशैं–तिहारका अवसरमा गरेको चियापान कार्यक्रम र मृतक नेताद्वय भरतमोहन अधिकारी तथा गत फागुन हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटक मन्त्री रविन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रमको ६० हजारका दरले १ लाख २० हजार रुपैयाँ समाज कल्याण परिषद्लाई तिर्न बाँकी छ ।
नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले एक लाख २० हजार तिर्न बाँकी रहेको स्वीकारेका छन् ।
यस्तै कांग्रेस र भातृ संगठन नेविसंघले २१ लाख १३ हजार तीन सय ३० रुपैयाँ समाज कल्याणलाई तिर्न बाँकी छ ।
कांग्रेस महाधिवेशन २०७२ सालमा भएको थियो भने नेविसंघको महाधिवेशन २०७३ सालमा भएको थियो ।
तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परिषदुलाई पैसा तिर्न बाँँकी रहेकोबारे आफूलाई थाहाँ नमभएको बताए ।
उनले भने, ‘यो मेरो जानकारीमा छैन, अब बुझ्छु ।’
भृकुटीमण्डपमा कार्यालय रहेको उपभोक्ता संरक्षण मञ्चले पनि कार्यालयको भाडा तिरेको छैन । मञ्चको नाममा ३० लाख रुपैयाँ बक्यौता छ भने भृकुटीमण्डपमै कार्यालय रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि भाडा तिरेको छैन । शाखाले करिब ११ लाख रुपैयाँ समाज कल्याणलाई बुझाउनु पर्नेछ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको नाममा ७७ हजार, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयले ८१ लाख, राष्ट्रिय अपाङ्ग महासंघले ४६ लाख बक्यौता तिर्न बाँकी छ ।
सोसँगै परिषद्ले रकम नतिर्नेहरुको सूची नै सार्वजनिक गर्नेे तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया