प्रति कित्ता आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा तोकिएको सर्वोत्तम सिमेन्ट कस्तो कम्पनी हो ?

लोकपथ
3.2k
Shares

काठमाडौं । नेपालमै पहिलोपल्ट ‘बुक बिल्डिङ’ विधिबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँड भइसकेको छ भने आयोजना प्रभावित स्थानीयबाट आवेदन लिइरहेको छ ।

कुल जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो । सर्वसाधारण समूहको पनि ४० प्रतिशत अर्थात् २४ लाख कित्ता संस्थागत लगानीकर्ताले पाइसकेका छन् भने ३६ लाख कित्ता सर्वसाधारणले पाउँछन् । सर्वसाधारण समूहमध्येबाटै ९ लाख ३० हजार कित्ता प्रभावित स्थानीय र २ लाख ६७ हजार कित्ता वैदेशिक रोजगारमा रहेकाका लागि आरक्षित छ ।

संस्थागत लगानीकर्ताले प्रतिकित्ता ४ सय १ रुपैयाँमा सेयर लिएका छन् भने अरू सर्वसाधारणले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले पाउँछन् । बुक बिल्डिङ विधिबाट मूल्यांकन भएको आईपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ता आवेदन दिनुपर्छ, पाउनेले पनि कम्तीमा ५० कित्ता नै पाउँछन् । अन्यको तुलनामा धेरै मूल्य पर्ने सर्वोत्तम सिमेन्ट आखिर कस्तो छ त भन्ने चासो धेरैमा छ ।

सर्वोत्तम सिमेन्ट कस्तो कम्पनी हो ?

रजिस्टर्ड कार्यालय काठमाडौं तिनकुनेमा रहेको सर्वोत्तम सिमेन्टको पाल्पा तिनाउ तथा निस्दी गाउँपालिकामा चुनढुंगा खानी छ । सर्वोत्तमले नवलपरासी सुनवलमा सर्वोत्तम ब्रान्डको सिमेन्ट उद्योग सञ्चालन गर्छ । सर्वोत्तम ब्रान्डको सिमेन्ट बिक्री वितरण गरी आम्दानी गर्नु नै कम्पनीको मुख्य व्यापार हो । सहायक कम्पनी सर्वोत्तम होल्डिङ्समा यस कम्पनीको शतप्रतिशत स्वामित्व रहेको छ ।

वार्षिक ९ लाख ९० हजार टन उत्पादन क्षमता भएको यस उद्योगले  २०७९/८० मा ४ लाख ८५ हजार टन सिमेन्ट बिक्री गरेको जनाएको छ । ४३ र ५३ ग्रेडको ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो समय सरकारले निर्यातमा अनुदान दिएसँगै भारतमा समेत बिक्री गर्ने योजना बनाएको छ ।

सर्वोत्तम सिमेन्टको कपिलवस्तु, बुटवल, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, बारा, पर्सा, दोलखा, चितवन, धादिङ, रौतहट, सर्लाही, सिन्धुली, पोखरा, तनहुँ, गोरखा, स्याङ्जा, पर्वत, लमजुङ, म्याग्दी, बाग्लुङ, नेपालगञ्ज, धनगढीसमेत क्षेत्रमा  थोक र खुद्रा विक्रेता रहेको कम्पनीले आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ।

नेपाल गुणस्तर चिह्न आइएसओ प्रमाणपत्र १४००१:२०१५ र आइएसओ प्रमाणपत्र ९००१:२०१५ को मान्यता प्राप्त गरेको यस उद्योगले चौबिसै घण्टा आफ्नै आधुनिक ल्याबबाट हरेक घण्टा उत्पादन परीक्षण गर्ने गरेको जनाएको छ । चुनढुंगाको गुणस्तर परीक्षणका लागि स्वचालित उपकरण उद्योगमै जडित रहेको उद्योगले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको दीर्घकालीन ऋण ३२ करोड १९ लाख रुपैयाँ रहेको  कम्पनीको ऋणसहित कुल दीर्घकालीन दायित्व ६४ करोड रुपैयाँ रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ । कम्पनीले लिएको ऋणमा वार्षिक १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ ।

कम्पनीको कुल सम्पत्ति र दायित्व आकार १३ अर्ब ४२ करोड रुपैयाँ बराबर छ । २०७९/८० मा कम्पनीले २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ । जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ । गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ ।

इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्छ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्छ ।

को हुन् कम्पनीका सञ्चालक तथा प्रमुख व्यवस्थापक ??

सर्वोत्तम सिमेन्ट कम्पनीका अध्यक्ष २८.९७ प्रतिशत सेयर स्वामित्व  भएका विष्णुप्रसाद न्यौपाने हुन् । कम्पनीका अन्य सञ्चालकहरु विमलकुमार सावर्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङ लाक्देन हुन् ।

कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक र स्वतन्त्र व्यवसायिक सञ्चालक एक सहित सात सञ्चालक रहने छन् । कम्पनीका अनुसार यी दुई सञ्चालक पछि चयन हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?