डीएसपी कुमुद ढुंगेलको डकैत समूहसँग हिमचिम

काठमाडौं । नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेल डकैत समूहसँग टेलिफोन सम्पर्कमा रहेको देखिएपछि प्रहरी मुख्यालयले छानबिन शुरु गरेको छ । मुख्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । गृहसचिव प्रेमकुमार राईले आईजी सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए ।

रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डकैत गरेको समूहका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाएको अनुसन्धानले बताएको छ । श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट नै गरेको दाबी गरेका छन् ।

स्रोतका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत ढुंगेलको निरन्तर संवाद हुँदै आएको रहस्य खुलेको छ । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । अनुसन्धान अधिकारीले बस्न्यात–ढुंगेल फोन सम्वादको अडियो सुरक्षित राखेका छन् ।

‘बस्न्यात र ढुंगेल आफन्त हुन् । आफन्त भए पनि कर्तव्य ज्यान मुद्दाका अभियुक्तसँग पटकपटक सम्पर्क देखिनु शंकास्पद छ’, एक अनुसन्धान अधिकृतले भने, ‘यसबारे पनि छानबिन गरिरहेका छौं ।’

बस्न्यात र ढुंगेलबीच १ सय ६० पटक फोन सम्वाद भएको कुरा पनि बाहिर आएको छ ।

मुख्यालयले डीएसपी ढुंगेलको बयान लिन महाशाखालाई निर्देशन समेत दिएको छ । मुख्यालयको सचिवालयले छुट्टै छानबिन थालेको छ । आईजी खनालले भने, ‘हेडक्वार्टर चुप लागेर बसेको छैन । आन्तरिक छानबिन सुरु भइसक्यो । दोषी देखिए कारवाही गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?