वैदेशिक यात्रामा सँधै ओझेलमा पर्ने एक पाटो ‘समय पीडा’ 

लोकपथ
1k
Shares

काठमाडौं । वैदेशिक यात्रा, विदेश बसाइ, अनि विदेश पलायनको विभिन्न कथाहरु हामीले सुन्दै आएका छौँ । सामान्यतया कथाहरुले अभाव, राजनितिक अस्थिरता, बेरोजगारी इत्यादि कारणहरुले सिर्जिएको एउटै विकल्प ‘विदेश यात्रा’को बारेमा कुराहरु कोट्याउँछन् ।

विदेश यात्राले सिर्जिएको नतिजाहरुको प्राय कहिल्यै कथाहरु सुन्नमा आउँदैन् ।

यहि विरलै छोइने नतिजाको पाटोले कोहि लेखकलाई कहिलेकाहिँ नमिठो बिझाउँछ । यहि बिझाइ नै हो कक्षा ९ को नेपाली किताबको एउटा पाठ ‘समय पीडा’ । ‘समय पीडा’लाई कथाकार पद्मावती सिंहले रचना गरेकी हुन् ।

समय पीडाले नेपाली समाजको यथार्थ चित्रण गरेको छ । पछिल्लो वर्षको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा चौध सय हाराहारी नेपाली विदेशिएको पाइन्छ, त्यसमा वार्षिक रुपमा करिब एक लाख विद्यार्थीहरु उच्च शिक्षाको अभिलाषामा विदेशिएका छन् । यस तथ्याङ्कले वार्षिक करिब तिस खर्ब विदेशिएको देखिन्छ । अनि विदेशले लगेको यहि रकमको व्याज देशले रेमिटेन्स र यादहरुको बिस्कुनको रुपमा भित्राउँछ । यहि नतिजाको कथा हो ‘समय पीडा’ ।

रकम त कति भित्राए भित्राएनन् मुख्य पात्र रामनाथ र आनन्दिले, तर विदेश गएका छोराहरुको यादहरु फोटो एल्बममा खोजिरहन्छिन् आनन्दि । माघे सङ्क्रान्तिका लड्डु ओठमा पुग्दा नपुग्दै उहि छोराहरुको यादले बिझाइहाल्छ कथाकि पात्र आनन्दिलाई । रामनाथले एउटा बिन्दुमा पुगेपछि पुत्र मोह त्यागि सक्छन् तर आनन्दिले भने उनै छोराको आश मार्न कहिल्यै सकिनन् ।

उमेर पुगेपछि विदेशिने र विदेशी रमझममा नै रमेर स्वदेशमा आफ्ना परिवार र देश प्रतिको कर्तव्यलाई बिर्सने प्रवृत्ति बढ्दो छ । ‘समय पीडा’ ले देशको यहि पिडा बोलेको छ । हाल नेपालमा घटिरहेको समस्या युवाहरुको विदेश मोहलाई यस कथाले दर्साउन खोजेको छ ।

विगत १० वर्ष देखि कलाकारितालाई आफ्नो कर्म बनाएका सुन्दर धितालको निर्देशनमा बनेको यो पहिलो नाटक हो । यस अघि विभिन्न चलचित्रमा अभिनय गरिसकेका धितालले मञ्चमा २४ मा १२, ज्ञानको चिहान लगायत विभिन्न नाटकमा आफ्नो प्रमुख भुमिका निभाइसकेका छन् । पात्रहरुको मनोविज्ञानलाइ बुझेर सोहि अनुसार हुबहु मञ्चमा उतार्ने बेजोड कला छ उनमा ।

अहिले उनै धितालले निर्देशन गरेको ‘समय पीडा’ गत माघ १० गतेबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा चलिरहेको छ । शनिबार विशेष सो चलाउने गरिएको छ ।

अहिलेको जल्दोबल्दो विषय वैदेशिक रोजगारी र त्यसका आयामहरुका बारेमा मिहिन ढंगले उृतारिएका कारण दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?