विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् ।
शनिबार विराटनगरमा नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको भनाइ राखे ।
‘जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने ? किनकी अहिले सर्वसाधारणको दैनिकी नै इञ्जिनियरको हातमा छ, तर त्यो दिन सकेका छौं ?,’ उनले भने, ‘इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’
नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासा लगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।
‘कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,’ उनले भने, ‘प्रदेशमा भइरहेको विकास निर्माणका कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरू गरौं ।’
प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरीय परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री कार्कीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया