काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको बारेमा नेपालीको मनमा भ्रम फैलाइएको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।
उनले आम नेपालीको मनमा आफ्नो परिवारबारे भ्रम छरेर नकारात्मक भावना फैलाइएको र आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको बताए ।
उनले भने, ‘ आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्र हितको भावना कायम नरहँदा आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे । उनले बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको समेत बताए ।
उनले भने ‘आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु । त्यसै आशय अनुरूप मैले ‘चिरकाल सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिएँ ।’
उनले आफ्नो मौलिकता, अस्तित्व र आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर देशमा सनातन देखि रही आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो नहुने भन्दै यो कुरामा अहिले पनि अडान कायम रहेको बताए ।
उनले भने ‘हामी देश मै छौँ , आज पनि देश मै रहेर हामीले देशको गौरवगाथा गाइरहेका छौँ । अहिले पनि देशको सर्वाङ्गीण उन्नति होस् , भेदभाव रहित ढङ्गले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ ।’
शाहले राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया