६ महिनामै सरकारले लियो एक खर्ब ६२ अर्ब ऋण, कुन महिनामा कति तिरियो ? (सुचीसहित)

लोकपथ
156
Shares

काठमाडौं । नेपाली समाजमा सदियौं देखि एउटा भनाई प्रचलनमा छ, ऋण लागेपनि दिन नलागोस । दिन लागेन भने ऋण त कमाएर पनि तिरिन्छ नि । यही भनाईबाट बर्तमान सरकार पनि प्रेरित भएको देखिएको छ ।

सरकारले चालु आर्थिक बर्ष सुरुभएदेखि यता अर्थात यही पुस मसान्तसम्ममा आन्तरिक र बाह्य समेत गरी कुल एक खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले यस अवधिमा आन्तरिकतर्फ अर्थात देशभित्रबाट नै एक खर्ब २८ अर्ब ३१ करोड र बाह्य अर्थात बिदेशबाट ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ समेत गरी कुल एक खर्ब ६२ अर्ब ५८ करोड ४९ रुपैयाँ ऋण लिएको हो ।

सरकारले साउनमा आन्तरिक तर्फ १३ अर्ब छ करोड र बाह्यतर्फ दुई अर्ब ७१ करोड ८४ लाख रुपैयाँ समेत गरी कुल १५ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ ऋण लिएको छ भने भदौमा आन्तरिक तर्फ ३१ अर्ब २० करोड र बाह्यतर्फ पाँच अर्ब ३० करोड ७७ लाख रुपैयाँ समेत गरी कुल ३६ अर्ब ५० करोड ७७ लाख रुपैयाँ ऋण लिएको छ ।

यसैगरी असोजमा आन्तरिकतर्फ ५३ अर्ब पाँच करोड र बाह्यतर्फ सात अर्ब ५० करोड ७० लाख रुपैयाा समेत गरी ६० अर्ब ५५ करोड ७० लाख रुपैयाँ लिएको छ भने कात्र्तिकमा आन्तरिकतर्फको ऋण शुन्य रहेको छ भने बाह्यतर्फ एक अर्ब ८७ करोड ५५ लाख रुपैयाँ ऋण लिएको छ । चालु आवको मंसिर महिनामा पनि सरकारले आन्तरिकतर्फ १४ अर्ब र बाह्य तर्फ दुई अर्ब ५६ करोड १६ लाख रुपैयाँ समेत गरी १६ अर्ब ५६ करोड १६ लाख रुपैयाँ ऋण लिएको छ । चालु आवको पुस मसान्तमा भने सरकारले आन्तरिकतर्फ एक खर्ब २८ अर्ब ३१ करोड र बाह्यतर्फ ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ ऋण लिएको छ ।

सरकारले यसरी ऋण लिदै जाँदा सरकारको टाउकोमा तिर्न बाँकी ऋणको कुल दायित्व भने २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको छ । ऋण व्यवस्थापन कार्यालयका अनुसार यो दायित्व अन्र्तगत आन्तरिक ऋणको दायित्व ११ खर्ब ९९ अर्ब चार करोड २० लाख र बाह्य तर्फ ११ खर्ब ८६ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

ऋण थपिंदै जाँदा सरकारले चालु आवको पुस मसान्तसम्ममा आन्तरिक ऋणको सावाँ र व्याजको लागि ९३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने बाह्य ऋणको सावाँ र व्याजको लागि २३ अर्ब एक करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस अन्र्तगत आन्तरिकतर्फ साउनमा २५ अर्ब ८४ करोड ६९ लाख, भदौमा १५ अर्ब ७६ करोड ५३ लाख, असोजमा १४ अर्ब ९४ करोड ४३ लाख, कात्र्तिकमा आठ अर्ब ८३ करोड ३२ लाख, मंसिरमा पाँच अर्ब १७ करोड ४२ लाख र पुसमा २३ अर्ब २५ लाख रुपैयाँ भुक्तानी भएको कार्यालयको भनाई छ ।

बाह्यतर्फ भने साउनमा एक अर्ब ९० करोड ४० लाख, भदौमा चार अर्ब ३६ करोड नौ लाख, असोजमा चार अर्ब ८८ करोड ५६ लाख, कात्र्तिकमा पाँच अर्ब ११ करोड ५८ लाख, मंसिरमा पाँच अर्ब २८ करोड ५२ लाख र पुसमा एक अर्ब ४६करोड २६ रुपैयाँ भुक्तानी गरेको कार्यालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?