प्रधानमन्त्रीको निर्देशनपछि बीपी प्रतिष्ठानमा बैठक बस्दै

लोकपथ
105
Shares

विराटनगर । कर्मचारी र शिक्षकको आन्दोलनका कारण प्रभाविन बनेको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न समितिको बैठक बोलाउन निर्देशन दिएपछि कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक सोमबार साँझ बस्ने तयारी छ ।यसअघि डा. कार्कीले गत शुक्रबार काठमाडौंमै कार्यकारी समिति बैठक बोलाएका थिए । उक्त बैठकले कुनै निकास नदिएपछि प्रधानमन्त्रीले धरानमै बैठक राख्न निर्देशन दिएका थिए ।

लामो समयदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको भन्दै प्रतिष्ठानका कर्मचारी र चिकित्सक शिक्षकहरु आन्दोलित बनेका छन् ।यसअघि भएको आन्दोलनपछि प्रतिष्ठान व्यवस्थापनले समस्या समाधान गर्ने सहमति गरे पनि बढुवा प्रक्रिया अघि बढाउन आनाकानी गरेको भन्दै उनीहरुले फेरि आन्दोलन थालेका हुन् ।

आकस्मिकबाहेक सेवा ठप्प पार्नेदेखि उपकुलपतिलाई निषेधित क्षेत्र तोक्ने, धर्ना बस्ने जस्ता आन्दोलनका कार्यक्रम उनीहरुले गर्दै आएका थिए ।लामो समयदेखिको आन्दोलनका कारण प्रतिष्ठानबाट हुने उपचार सेवा प्रभावित हुनुका साथै त्यहाँको शैक्षिक कार्यक्रमलगायत गतिविधिमा पनि असर गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?